एनओसीको विषय सीसीएमसीमै रोकियो, शैक्षिक परामर्श व्यवसाय धरापमा


काठमाडौं/३१ साउन-कोभिड-१९ का कारण लकडाउनसँगै रोकिएको वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयले दिँदै आएको वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) अझै खुल्न सकेको छैन । उच्च शिक्षा महाशाखाले एनओसी खोल्न पहल गरे पनि सीसीएमसीमा यो विषय रोकिएको छ ।

लकडाउनकै बीचमा विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी अनलाइनबाटै वितरण गर्ने भन्दै उच्च शिक्षा महाशाखाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबाट स्वीकृत लिइसकेको छ । तर, एनओसी खोल्ने विषयमा सीसीएमसीमा छलफल भएर क्याविनेटबाट पारित भएर आउनुपर्छ । यसकालागि उच्च शिक्षा महाशाखाले सीसीएमसीमा प्रस्ताव पठाएको छ । तर, प्रस्ताव गएको लामो समय हुँदा पनि निर्णय हुन नसकेको उच्चा शिक्षा महाशाखाका प्रमुख रामशरण सापकोटाले खबर एजुकेशनलाई जानकारी दिए । उनका अनुसार सीसीएमसीले निर्णय गरेसँगै एनओसी दिने वा नदिने बन्ने विषय क्याविनेटबाट पारित भएर आउनुपर्छ । सीसीएमसीमा कहिले छलफल हुन्छ र क्याविनेटमा पठाई पारित हुन्छ की हुँदैन अहिले नै भन्न नसकिने उनको भनाइ छ ।

अहिले राज्य कोभिड -१९ को रोकथाम कसरी गर्न सकिन्छ भन्न्ने विषयमै केन्द्रित भएकोले एनओसीको विषय प्रमुख नभएकाले सीसीएमसीमा छलफल नभएकोे स्रोतको भनाई छ । त्यसकारण यहि दिनमै छलफल हुन्छ भन्न नसकिने देखिन्छ ।

शिक्षा मन्त्रालयले जेठ ३१ गते सूचना जारी गरी अनलाइन मार्फत एनओसी वितरण गर्ने जनाएको थियो । तर, लामो समय वितिसक्दा पनि कार्यान्वयन हुन सकेको छैन ।

शैक्षिक परामर्श व्यवसाय धरापमा


कोभिड -१९ का कारण शैक्षिक परामर्श व्यवसाय धरापमा परेका छन् । लामो समयसम्मको लकडाउनले गर्दा यो क्षेत्र निकै सकसमा परेको छ । नेपाल राष्ट्र बैंकले अतिप्रभावित क्षेत्रमा समावेश गरेपनि राज्यबाट कुनै सहयोग नपाउदा यो क्षेत्र धरासायी बनेको हो । साथै, अधिकांश शैक्षिक परामर्श संस्थाले घरभाडामा छुट पाउन नसके पछि सम्पर्क कार्यालय मात्रै राखेर व्यवसाय सञ्चालन गर्न थालेका छन् । लामो समयदेखि व्यवसाय बन्द हुँदा आर्थिक अभावका कारण व्यवसायीहरुले कर्मचारीमा कटौति गर्न थालेका छन् । त्यसैले, कोभिड -१९ को प्रभाव कम भएका देशमा विद्यार्थी अध्यानमा जन सक्ने सम्भावना भएकाकारण सरकारले एनओसीको बारेमा छिटो निर्णय लिनु पर्ने व्यवसायीहरुको माग छ ।