शैक्षिकसत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था गर्न निर्देशन

काठमाडौं /२९ साउन – कोरोना महामारीका कारण लामो समयदेखि शैक्षिक संस्थाहरु बन्द छन् भने परीक्षा सञ्चालन भएका छैनन् । जसले गर्दा शैक्षिकसत्र नै खेर जाने होकी भन्ने चिन्ता सबैलाई छ ।

तर,शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी पाठ्यक्रममा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले बुधबार बसेको पाठ्यक्रम विकास तथा मुल्यांकन परिषद्को बैठकलाई सम्बोधन गर्दै शिक्षाका सम्बन्धित अधिकारीलाई तत्काल निचोड निकाल्न निर्देशन दिएका छन् ।


विद्यार्थीको शैक्षिकसत्र खेर जान नहुने बताउँदै उनले भने,पाठ्यक्रमको भार घटाउने, केही हटाउने तथा अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि शैक्षिकसत्र खेर जान दिँदैनौं ।


कोरोना महामारीका कारण शैक्षिक संस्था बन्द रहँदा विद्यार्थीको सिकाइलाई निरन्तरता दिन निजी विद्यालयहरुले अनौपचारिक रुपमा वैकल्पिक माध्यमबाट पठनपाठन सुरु गरेका थिए भने सरकारले असार १ गतेबाट औपचारिक रुपमा वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिँदै आएको छ । तरपनि, धेरै विद्यार्थीहरु वैकल्पिक शिक्षण सिकाइ विधिको पहुँचबाट पनि टाढा रहेका छन् ।