काठमाडौं/१२ साउन- आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलाएकाले भदौ १५ गतेदेखि विद्यालय तहकाे पठनपाठन हुने सम्भावना देखिएकाे हाे ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले विगतमा सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको बताए । कोरोनाको सङ्क्रमण नबढेको अवस्थामा भदौ मध्यबाट पठनपाठनको सम्भावना देखिएको उनकाे भनाइ छ ।
भदौ १५ गतेबाट विद्यालय तहको पठनपाठन नियमित सुरु गर्न सकिए आगामी चैत वा वैशाखसम्म पठनपाठन पूरा गर्न सकिने सम्भावना रहेको जनाइएको छ । चैतमा सामान्यतया शैक्षिक सत्र सकिने भए पनि यसपटक चैत वा वैशाखसम्ममा शैक्षिक सत्र पूरा गर्न सकिने केन्द्रका निर्देशक गौतमले बताए । पछिल्लो शैक्षिक सत्रको एक महिना अध्यापन गराउन सकिए समस्या नहुने उनले भने ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन) का केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक क्रियाकलाप तथा परीक्षा सञ्चालनसमेत खुला गरिएपछि भदौ १५ बाट नियमित पठनपाठनमा जानु सान्दर्भिक नै हुने बताउँदै, उनले भने, “सामाजिक दूरी भने कायम गर्न सक्नुपर्ने र त्यसलाई विशेष रूपमा व्यवस्थापन गर्नुपर्छ ।”
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का अध्यक्ष टीका पुरीका अनुसार विद्यालय खुल्ने कुरा सङ्क्रमणमा भर पर्न सक्ने उल्लेख गर्दै परिस्थितिको अांकलन गरेर निर्णय लिनु उपयुक्त हुन्छ । सङ्क्रमण नभएको स्थानमा विद्यालय खोल्नु सान्दर्भिक नै हुने उनकाे तर्क छ ।
आजको गोरखापञमा समाचार छ ।