काठमाडौ/२८ जेठ-कोरोना भाइरसको कारण स्थगित भएको यो वर्षको एसईई परिक्षा नगर्ने मन्त्रिपरिषद बाट पारित भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने गरी मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए ।
कोरोना भाइरसको संक्रामितको संख्या बढ्दै जाँदा विद्यालय खुल्ने अनिश्चित भए पछि विद्यालयको मूल्याङ्कनलाई आधार मानेर विद्यार्थीलाई प्रमाणपत्र दिने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको थियो । उक्त प्रस्ताव आजै क्याबिनेटले पारित गरेपछि यो वर्ष एसईई नगरि विद्यालयको मूल्याङ्कनलाई आधार मानिने भएको छ ।
यो निर्णय यो वर्षको लागि मात्र हो । आगामि वर्ष देखि उक्त परिक्षा प्रदेश तहमा सञ्चालन हुने छ ।
कक्षा ११ र १२ को हकमा भने ११ को परिक्षा नलिने मन्त्रालयको सोच रहेको छ भने कक्षा १२ को उपयुक्त समयमा गरिने स्रोतले जनाएको छ ।