भारतले नेपालका ५६ विद्यालय पुनःनिर्माण गर्ने

काठमाडौं/२७ जेठ– भारत सरकारले नेपालका ५६ विद्यालय पुनःनिर्माण गर्ने भएको छ । भारत सरकारले नेपालमा रहेका ७ जिल्लाका ५६ विद्यालय पुनःनिर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

भारतीय दूतावासले जारी गरेको विज्ञप्ति अनुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रृपलाञ्चोेक, रामेदाछ र सिन्धुपाल्चोक जिल्लामा ५६ माध्यमिक विद्यालय पुनःनिर्माण गर्न लागेको हो । भारतीय दूतावास र नेपाल सरकार शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (शिक्षा) ले सात वटा सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

विज्ञप्तिमा भूकम्प प्रतिरोध क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण गरिने जनाइएको छ । विद्यालयको पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर, छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । दुतावासले भूकम्पप्रतिरोधी संरचना पुनः निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्ने बताए को छ ।

भूकम्प पश्चात्को पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको दुतावासले जनाएको छ ।