काठमाडौं/२५ जेठ– कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन जारी ग¥यो । लकडाउन जारी भएसँगै साढे दुई महिनादेखि शैक्षिक संस्थाहरु बन्द छन् । तर, ओखलढुंगा जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ३ सिस्नेरी सल्लेरीमा रहेको जलकन्या आधारभूत विद्यालयमा भने यति बेला पुनःनिर्माणको काम भईरहेको छ ।
भूकम्प प्राधिकरण केन्द्रीय कार्यान्वय इकाई र ओखलढुंगा कार्यान्वय इकाई शिक्षाले चार कोठे भवन निर्माणका लागि ६९ लाख बजेट दिएको छ । विद्यालय निर्माणका लागि बजेट प्राप्त गरेसँगै विद्यालयका प्रअ विद्यालय पुनःनिर्माणको काममा कसिएका हुन् । भूकम्पका कारण क्षतिग्रस्त भएको यस विद्यालयको पुनःनिर्माणको कामले यतिबेला तीव्रता पाइरहेको छ । विद्यालयका प्रधानाध्यापक हरिवंश पराजुली अहिले विद्यालय पुनःनिर्माणको काममा अवरत खटिरहेका छन् ।
वि.सं.२०४८ सालमा स्थापना भएको यस विद्यालयमा पुरानो जस्ताले छाएको तीन कोठे भवनबाट कक्षा १ देखि ५ सम्म पठनपाठन हुँदै आईरहेको छ । एउटामा अफिसकोठा, अर्कोमा बाल कक्षा, एक र दुईका विद्यार्थी र अर्कोमा कक्षा तीन, चार र पाँचका विद्यार्थीहरु सँगै राखेर पठनपाठन हुँदै आईरहेको विद्यालयका प्रअ पराजुलीले खबर एजुकेशनलाई जानकारी दिए । त्यसबेलामा प्रधानाध्यापक भोला अधिकारी र विद्यालय व्यवस्थापन समिति अध्यक्ष लाल बहादुर तामाङले सम्झौता गरेका थिए तर पछि तत्कालीन प्रधानाध्यापक अधिकारी घर पाएक सरुवा भई गएको र सहयाक प्रधानाध्यापक टंक बुढाथोकीले प्रधानाध्यापकको जिम्मेवारी समाले पछि उनी पनि अस्थयी शिक्षकको आन्तरिक परीक्षामा असफल भएपछि करिब १ वर्ष बाल शिक्षिका कल्पना तामाङले प्रधानाध्यापकको जिम्मेवारी समालिन तर विद्यालय निर्माणको कामले गति लिन सकेन ।
पहिलो, दोस्रो र टप ढलान भएपनि अरु काम भने रोकिएको थियो । विद्यालय लथालिङ्ग अवस्थामा रह्यो भने तत्कालिन अध्यक्ष लाल बहाहुर तामाङले विद्यालय निर्माण गर्न नसक्ने भनेर काम रोके । वर्तमान प्रअ पराजुली नियुक्ती भएसँगै उनको अगुवाइमा अभिभावकहरुको सर्वसम्मतबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हर्क बहादुर थापा क्षेत्री निर्वाचित गरेपछि पुरानो हिसाब निवर्तमान अध्यक्ष लाल बहादुर तामाङले नयाँ समिति र प्रअलाई दिएपछि नयाँ समितिले म्याद थपको अनुरोध गर्ने निर्णय गरेपछि विद्यालय भवनको कार्य आगाडि बढेको थियो ।
तर, बिडम्बना चैत ११ गते बाट लकडाउन भएसँगै विद्यालय भवन निर्माण अनिश्चित बनेको थियो । भूकम्प प्राधिकरण कार्यान्वयन इकाई केन्द्रीय कार्यालयले २०७७ असार १५ गतेभित्र निर्माण सम्पन्न नगरे बजेट फ्रिज गरिने परिपत्र जारी गरेसँगै पुनःनिर्माणको कामले तीव्रता पाएको हो । विद्यालयमा यातायातको सुविधा आइनपुगेकाले निर्माण कार्यमा भने कठिनाई भएको प्रअ पराजुलीको भनाई छ । उनले लकडाउनका कारण सामान खरिदमा समेत धेरै कठिन भएको बताए । प्रअ पराजुलीले समयसीमा भित्र विद्यालय निर्माणको काम सक्ने गरी काम भईरहेको जानकारी दिए । कोरोना संक्रमण फैलिएकाले सामाजिक दुरी कायम गरी काम गरिरहेको उनको भनाई छ । समयमै काम सकि आफ्नो जिम्मेवारी पूरा गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।