सिङ्ग लामा
अचेल चरम चर्चा र विवादमा छ, अनलाइन क्लास । सरकारले नीतिगत रुपमा अँगाल्न बाँकी तर शिक्षामा नवीनतम प्रयोग गर्न चाहनेहरुले प्रयोगमा ल्याई सकेको यो माध्यमका विषयमा अरु सबै बहस चल्दै गरोस् तर यो महामारी र २१ औं शताब्दीले दिएको शिक्षाको एउटा नयाँ आयाम भने पक्कै हो । यसका एकथरी समर्थकहरुले भने जस्तो यो शिक्षाको सम्पूर्ण समाधान त हैन, बरु यसलाई शैक्षिक यात्राको नयाँ सवारी साधन चाँही पक्कै मान्न सकिन्छ । तर, सवारी फेरिए पनि चालकको चलाइन परिवर्तन नहुने रहेछ । किनकी शिक्षण–सिकाई हिजो जे–जस्तो थियो, अनलाइनमा पनि उस्तै छ । शिक्षकले बोल्ने, विद्यार्थीले सुन्नु पर्ने, अंक र परीक्षा केन्द्रित लेखन अभ्यास, गृहकार्य, आदि । मानौं हिजो हामी घोडा–गाडा चालक थियौं, आज अचानक हवाइजहाजको सवारी मिलेको छ । तर, अब चालक पाईलट बन्न चाहेन वा जानेन भने दुर्घटना त अवश्यम्भावी छ । त्यसैले एकाध हप्तामै अनलाइन पनि प्रभावकारी नभएको द्रुत निष्कर्श निकाल्न आतुर पुरातनवादी सोचले प्रशय पाउन थालेको छ । यसरी अनलाईनमै अनलाईन शिक्षाको विरोध र समर्थन गरिरहनु भन्दा यसको सम्भावना खोतल्न तिर लाग्नु जरुरी छ ।
सवाल अनलाइन वा प्रत्यक्ष कक्षा कुन राम्रो भन्ने भन्दा पनि हाम्रो शिक्षण सिकाईले खोजेको रुपान्तरणको हो । शिक्षकले बोलेर सुनाएपछि विद्यार्थीले सिक्छन् र लेखेपछि सिकाई समाप्त हुन्छ भन्ने बुझाई समाजको हरेक तह र तप्कामा गडेको छ, जुन सर्वथा एकांगी र पुरातन छ । हिजो ज्ञानको अन्य स्रोत नहुँदा शिक्षक नै एकमात्र स्रोत हुन्थ्यो, त्यो बेला यो पद्दती गलत थिएन । तर, आज समय एकदमै बदलिएको छ । सूचना र जानकारीका लागि शिक्षक एकल स्रोत हुनै सक्दैन, यदि कोही बन्न खोज्छ भने त्यो अत्यन्त कमजोर र सुक्ष्म हुन्छ । आज ज्ञानको गंगा गुगलमा बग्दैछ, साईबर संसारमा फैलिएको छ । कोही पनि शिक्षकले यसको बराबरी गर्नै सक्दैन । तसर्थ, आफुले जानेको सुनाएर वा एउटा किताबमा भएको कुरा बताएर पढाउन खोज्नु भनेको आफू पनि मूर्ख हुनु र भावी पुस्तालाई पनि त्यस्तै बनाउनु हो । शिक्षाले परिवर्तन खोजेको छ, रुपान्तरण मागेको छ । कक्षामा हरेक वर्ष विद्यार्थीहरुमा लामो सुन्न नसक्ने, निदाउने, झर्किने, गफिने, मूखाले हुने, हिंसात्मक चरित्र देखाउने, आदि जस्ता विद्रोहको व्यवहारमा बढोत्तरी हुँदै गएको कुराको शिक्षाकर्मीहरु साक्षी त हुन् । तर विकल्पको सही खोजी हुन सकेको छैन । तसर्थ, अमेरीकी शिक्षाविद सर केन रबिन्सनले भनेजस्तै अब शिक्षामा सुधार हैन, रुपान्तरण गर्न ढिला भैसकेको छ । हाम्रो शिक्षाको इतिहास मूलतः सुधारको योजनामा अल्झेको छ, अहिले पनि त्यही हुँदैछ ।
अब के गर्ने त ?
रुपान्तरणका लागि शिक्षालाई जीवनसँग जोड्ने, विद्यार्थीको बुद्धिमता र आवश्यकता अनुसार ज्ञान र बुझाईको निर्माण र सिर्जनाको आधारमा सिकाउने ।
कसरी त ?
यसको लागि दुईवटा उत्कृष्ट अभ्यासहरु सिकाई अर्थात प्रोजेट बेस्ट लर्निङ (पिबिएल) र मल्टिपल ईन्टेलिजेन्सेज्को सिद्धान्तको समिश्रण वा जोड आवश्यक छ । हामीले नेपालमा यसको अभ्यासलाई एमआई पिबिएल भन्दै आएका छौं ।
पिबिएल जोन डिवी, जाँ पियाजे, लगायत थुप्रै शिक्षाविद् तथा मनोवैज्ञानिकहरुको खोजबाट उदाएको प्रगतिशिल शिक्षा वा प्रोग्रेसिभ एजुकेशनमा आधारित प्रत्यक्ष वास्तविक जीवनसँग जोड्ने क्रियाकलापहरु गरेर सिक्ने एक्काईसौं शताब्दीको एक उत्कृष्ट शिक्षण प्रक्रिया हो । तर, याद रहोस नामबाट नझुक्किनु होला यो नेपालमा कम्युनिष्टहरुले भन्ने गरेको माक्र्सवादी प्रगतिशिल शिक्षा जस्तो चाँही बिलकुलै हैन ।
त्यसैगरी मल्टिपल ईन्टेलिजेन्सेज अथवा एमआई सिद्धान्त चाँही सन् १९८३ मा हवार्ड विश्वविद्यालयका प्रोफेसर डा. होवार्ड गार्नरले आफ्नो अनुसन्धानमा आधारित “फ्रेम्स अफ माइण्ड” नामक किताब लेखेर प्रतिपादन गरेका हुन, जसमा उनले मान्छेमा एक या दुई थरी मात्र नभई सात थरी बुद्धिमता वा ईन्टेलिजेन्स हुने कुरा बताएका छन् । जुन कुुराले शिक्षा क्षेत्रमा हलचल मच्चायो किनकी परम्परागत रुपमा भाषिक र गणीतीय क्षमतालाई मात्र शिक्षाले मान्यता दिँदै आएको थियो । पछि आठ, नौ हुँदै अहिलेसम्ममा एघार थरी बुद्धिमता रहेको अनुसन्धानले पुष्टी गरेको छ । ती हुनः शाब्दिक–साहित्यिक, गणीतीय–तार्किक, सांगितिक, द्रष्टात्मक÷दृष्यात्मक, शारीरिक–गतिसंवेदी, अन्तरव्यक्ती, अन्तरमुखी, प्राकृतिक, अस्तित्ववादी, शिक्षण र डिजिटल । यो कुनैपनि विद्यार्थीको सिकाईको बाटो र जीवनको सफलताको आधार भएको हुनाले उसलाई त्यसैको आधारमा सिकाईको सिर्जना र निर्माण गर्ने प्रोजेक्टको अवसर दिइनु नै एमआई पिबिएल हो ।
तसर्थ, यो नेपालमा चलनचल्तीको कागज काट्ने र फोटो टाँस्ने “प्रोजेक्ट” गराई भन्दा बिलकुलै फरक अभ्यास हो किनकी यो परम्परागत रुपमा पढाई सकिए पछि गराइने कार्य हैन, बरु अनुभावमा आधारित “डीप लर्निङ” को प्रक्रिया हो ।
अब यी कुराहरु अपनाऔं :
१. प्रत्यक्ष शिक्षणको समय ह्वात्तै घटाऔं ।
प्रत्यक्ष शिक्षण वा शिक्षकले बोलेर पढाउने कुरा शतप्रतिशत गलत त हैन तर, केही सीमित शाब्दिक–साहित्यिक र गणीतीय–तार्किक बुद्धिमता भएका बच्चाहरुले बाहेक धेरैका लागि यो विधी प्रत्युत्पादक हुन्छ । तसर्थ, यो विधीलाई एरिक जेन्सनले “टिचिङ विथ दी ब्रेन ईन माइण्ड” मार्फत सुझाएको गाइड लाईन अनुसार केजीदेखि २ कक्षालाई ५–८ मिनेट, ३–५ कक्षालाई ८–१२ मिनेट, ६–१२ कक्षालाई १२–१५ मिनेट र प्रौढलाई १५–१८ मिनेटमा सीमित राख्न सके उचित हुन्छ । त्यो भन्दा बढी तपाईँ बोल्न त सक्नुहुन्छ । तर, त्यसले विद्यार्थीको सिकाईमा सकारात्मक भन्दा नकारात्मक असर बढी पार्ने कुरा वैज्ञानिक रुपमा पुष्टी भईसकेको छ ।
२. कन्टेन्ट वा पाठ्यवस्तु नदिऔं, शिक्षालाई जीवनसँग जोडौं, जीवनलाई नै शिक्षा बनाऔं ।
आजको लकडाउनको सबैभन्दा राम्रो पक्ष भनेको किताब नहुनु हो । हाम्रो शिक्षाको बाधक नै एक्लो पाठ््यपुस्तकमा निर्भर हुनु हो । तसर्थ, यतिबेला पाठ््यपुस्तक, वर्कशीट, होमवर्क, आदिबाट बाहिर आउन सक्नु नै शिक्षालाई जीवनसँग जोड्नु हो । यहाँ किताब पढ्नु खराब भन्न खोजेको हैन, किताब अवश्य चाहिन्छ । तर, एक्लो किताबलाई सम्पूर्ण मानेर शिक्षालाई जीवन र जगतबाट विमुख बनाउनु चाँही गल्ती नै हो । कमसेकम यो महामारीमा त्यो गल्ती गर्ने सुविधा हामीलाई छैन । त्यसैले, दैनिक जीवनमा गर्दै आएका गतिविधी र घरमा उपलब्ध सामग्रीहरुको प्रयोगबाट गर्न सकिने क्रियकलापलाई शिक्षा र सिकाईसँग जोड्ने कार्य प्रारम्भ गरौं ।
३. गराउने चाँही के त ?
जोन डिवीले भने जस्तैः उनीहरुलाई नपढाऔं, अर्थपूर्ण केही गर्न दिऔं किनकी गर्ने क्रममा उसले सोच्नुपर्ने हुन्छ, त्यही सोचाईबाट उसको उत्कृष्ट सिकाई निर्माण हुन्छ । जब शिक्षा जीवनसँग जोडिन्छ, एकातिर हामीले परम्परागत रुपमा पढाउनु पर्दैन भने अर्कोतिर विद्यार्थीहरु “म पढीरहेको छु, यो गाह्रो छ, धेरै मेहेनत गर्नुपर्छ” भन्ने अप्रिय सोच बाहिर आउँछ । थाहै नपाई उसलाई मनपरेको गतिविधी गर्दागर्दै सिकाईको लक्ष्य पूरा हुन जान्छ । यति भन्दै गर्दा सबै हिसाबले जीवनसँग जोडिएको उत्कृष्ट क्रियाकलाप गराउन पिबिएल र एमआईको प्राविधिक पक्षको ज्ञान हुनु त जरुरी छ नै । विशेषतः हरेक बच्चामा अन्तर्निहित मल्टिपल ईन्टेलिजेन्सेज्लाई वैज्ञानिक आधारमा चिनेर प्रोफाईलिङ गर्न र सो को आधारमा पाठलाई कस्टोमाईज्ड पिबिएल बनाएर फरक बच्चा वा समुहलाई फरक खालको क्रियाकलाप विकास गरी प्रक्रियामा ढाल्नु पर्ने हुन्छ र अन्तमा फेरी एकिकृत सिकाई प्रस्तुती अत्यन्त रमाईलो एवं प्रभावकारी हुने गर्दछ ।
तर, आज जुन तरिकाले अनलाइन कक्षामा पनि स्कूलमा गराउने गतिविधी नै गराइएको देखिन्छ, त्यसमा तत्काल सुधार आवश्यक छ । एकदमै सामान्य तरिकाले शिक्षालाई जीवनसँग जोड्न देहाय अनुसार गरेर हेरौंः
ड्ड बिरुवा पढाउन टिचरले भाषण किन गर्ने ? त्यसको चित्र बनाउन लगाउन र नामाकरण गराउन पनि आवश्यक छैन । किताब, वर्कशीट पनि चाहिएन किनकी कुनैपनि घर, समुदायमा बिरुवा भई हाल्छन्, त्यसलाई अध्ययन गर्न, छुन र त्यहीँ नामाकरण गराए त टन्टै साफ । होमवर्क चाहिए गतिविधीको फोटो भिडियो लिन लगाऔं । शिक्षालाई निर्जिवताबाट सजीवतातिर पो जोडने हो त ।
ड्ड भर्टेब्रेट र ईन्भर्टेब्रेट पढाउन शिक्षकले जूमको मिटिङ सिद्धिने गरी ४० मिनेट खोक्न जरुरी छैन नी । ५ मिनेटमा अवधारणा दिएर घरछिमेकमा हुने माउसुली, साङला, मुसा, झिंगा, भँगेरा, अक्वेरियमका माछा, कुकुर, बिरालो, गड््यौला आदिको अध्ययन गर्न लगाएर फोटो, भिडियो रिपोर्ट बनाउन लगाए कति राम्रो ।
ड्ड अन्नबाली पढाउन किचेन र करेशा वा कौशी पठाए पुग्दैन र ?
ड्ड अस्ती एक अमेरिकी पिबिएल शिक्षकले लकडाउनकै बेलामा “ह्याप्पी प्लान्ट” प्रोजेक्ट गराएको शेयर गर्दै थिईन । घरमा उपलब्ध बिउविजनलाई गमला वा कौशीमा उमारेर त्यसको सेंचन र विकास अध्ययनको ४ हप्ते प्रोजेक्ट । त्यो गर्न हामीलाई शिक्षा नीतिले छेक्छ की किताब नभएर समस्या हुन्छ ? बरु उनको विद्यार्थी शरणार्थी शिविरमा बस्ने भएर बिउविजन समेत दिन जानुपरेको बताउँदै थिईन् । सायद हामीमध्ये धेरैलाई त्यस्तो अप्ठ्यारो छैन ।
ड्ड “फ्यमिली” सिकाउन कागजको सहारा चाहिन्छ र परिवारसँगै बसेको बेला ? सँगै बस्ने, खाने, खेल्ने, चिन्ने, चिनाउने, गाउने, नाच्ने आदि गरे पुगेन र ? स्कुलमा बसेर उसको परिवार चिनाउन पो गाह्रो थियो त ।
ड्ड ओबिटिईमा पकवान पकाउनु प¥यो । त्यसको पनि भाषण छाँट्नु र ? किताब र फोटो चाहिन्छ यसलाई ? कुनैदिनको घरको खाजा वा खानामा त्यही पकाएर सपरिवार खान लगाए हुन्न ? यहाँ हामी भन्दा घरघरमा आमाहरु धेरै उत्कृष्ट शिक्षक हुन सक्छन् ।
ड्ड परम्परागत सामान र प्रविधी सिकाउनु प¥यो, फेरी चित्र बनाउने र फोटो खोजेर टाँस्ने “प्रोजेक्ट” दिने ? सबैको घरमा भएका सामानहरु खोज्न लगाएर अध्ययन र प्रयोग गर्न दिए पुग्दैन ? घरमै विशेषज्ञ शिक्षक छन् त ।
ड्ड चारथरी सिजन सिकाउनु प¥यो, फेरी वर्कशीट ? घरमा भएको थरीथरी लुगा लगाएर सिजन अनुसारको अभिनय गराए वा फोटो मात्र खिचाए हुन्न ? हुरीबतास देखाउन पंखा चलाउने, हिउँ देखाउन केही कपास वा अन्य चिज खेलाए हुन्न?
ड्ड प्रेसर सिकाउन लेक्चर दिँदा सुनेनन् भनेर आफ्नो प्रेसर बढाउनुको सट्टा अण्डा उसिनेर बोतलमा छिराउन लगाउन हुन्न र ?
ड्ड कथा, कविता घोटाई घोटाई पढाउनु भन्दा स्वतन्त्र रुपमा केही किताबहरु पढ्न दिएर वा आवश्यक प्रसंग र आधार दिएर नयाँ रचना र सिर्जना गराउन सकिन्न ?अनि त्यही सिर्जनालाई कम्प्रिहेन्सन अभ्यास गराउँदा पनि भो त ।
ड्ड हरेक राती कौशी वा खुल्ला ठाउँबाट आकाशको दृश्यावलोकन र अध्ययन गराए ऊ भित्रको एस्ट्रोनटलाई बुलावा पाउन सक्थ्यो की?
ड्ड परिवारका ज्येष्ठ सदस्यको बाल्यकालको अन्तर्वार्ता लिन लगाएर पत्रकारिता पो सिकाउने की ?
ड्ड भेन डायग्राम सिकाउन जूममा हातले अदृष्य आकार बनाई बनाई के दुःख गर्नु । परिवार, छिमेकका दुई व्यक्तिहरुको तुलना गराए भो, वा मन्दिर, मस्जिद वा गुम्बालाई लिए भो ।
ड्ड क्षेत्रफल, परिधी, आदि सिकाउन गाह्रो भो? घरको कोठा, कोठा नाप्न लगाए सक्किगो त ।
ड्ड विज्ञान र भूगोलमा मौसम सिकाउनु प¥यो ? घरायसी सामानबाट रेन गज्, ब्यारोमिटर र विन्डमिल बनाएर अध्ययन गर्न लगाए भएन र ?
ड्ड त्यस्तै, विभिन्न तरल पदार्थ जम्न कति कति समय लिन्छ, फ्रिजमा अभ्यास गराएर विज्ञान सिकाउन सकिन्न र ?
यी त केही उदाहरण मात्र हुन्, कुरोको चुरो भनेको शिक्षा जीवनमै छ र जीवनकै लागि हो भन्ने हो । जीवनबाट अलग्ग्याएर सिकाउनु भनेको उसलाई वास्तविक ज्ञान र सिकाईबाट विमुख गराउनु हो । सम्भावना अथाह छ, त्यही थाहा नभएर दुःख भएको मात्र हो । हाम्रो शिक्षकहरुको एउटा महान भूल भनेको एउटै तरिकाले सबैलाई पढाउनु र एउटै क्रियाकलाप सबै विद्यार्थीहरुलाई जसरी भएपनि गराउनु हो । हवार्ड गार्नर भन्छन्, यदि तपाई विषयवस्तुलाई एउटा मात्र तरिकाबाट अभिव्यक्त गर्न सक्नुहुन्छ भने तपाईको आफ्नै बुझाई अत्यन्त सीमित छ र तपाई असल शिक्षक कहिल्यै बन्न सक्नुहुन्न । शिक्षकको यही सीमितताको कारणनै हामीले एमआई थ्योरी र पिबिएललाई समिश्रण गर्नुपरेको हो । एघार थरी बुद्धिमतालाई कुनैपनि पाठ वा विषयवस्तु सिकाउन कम्तीमा पनि ५–६ थरी प्रोजेक्ट क्रियाकलाप डिजाईन गरिनु आवश्यक देखिन्छ र त्यसलाई विलियम ग्लास्सरको “च्वाईस थ्योरी” अनुसारको सुविधाले सघाउन जरुरी छ ।
त्यसैले, अब तपाईका विद्यार्थीले के सिक्ने भन्दा पनि किन सिक्ने र कसरी सिक्ने भन्ने कुरा परिभाषित हुन जरुरी छ । संसारभरी पिबिएललाई संस्थागत र स्तरीकृत गर्दै आएको अमेरिकी संस्था बक इन्स्टियुट फर एजुकेशनका लेखक एवं प्रमुख सम्पादक जोन लार्मर भन्छन्, कुनै क्रियाकलाप गरिरहेको तपाईको विद्यार्थीलाई कसैले “तिमी यो किन गर्देछौ ?” भनेर सोध्दा “शिक्षकले भन्या भएर वा हामी यो विषयको प्रोजेक्ट गर्दैछौं वा नगरेमा शिक्षकले सजाय दिन्छन् वा मलाई थाहा छैन” भन्ने जस्ता जवाफ आएमा शिक्षण प्रक्रियामा गम्भीर समस्या छ । तसर्थ, सिङ्गो सिकाईको प्रक्रियालाई अर्थपूर्ण ड्राईभिङ प्रश्न मार्फत ईन्टेलिजेन्समा आधारित क्रियाकलापहरुमा संलग्न गराई खोजको प्रक्रियातर्फ अभिप्रेरित गराउने र वास्तविक जीवनका समस्या समाधानको अनुभव दिएर अन्तमा बुझाई र ज्ञानको सिर्जना एवं निर्माण गर्न लगाउनु नै वास्तविक सिकाई हुनसक्छ । त्यसैले, अब बेला भएको छ, शिक्षालाई रुपान्तरण गर्ने । के हामी यसका लागि तयार छौं?
लेखक महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज र हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा एमआई पिबिएल पद्दतीका प्रवर्तक समेत हुन् ।