काठमाडौँ /२८ वैशाख – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०८२ चैतमा सञ्चालन गरेको एसईईको नतिजा सार्वजनिक गर्न बसेको बोर्ड बैठकमा पहिलो पटक कक्षा ११ र १२ का परीक्षा नियन्त्रकलाई सहभागी नगराइएको पाइएको छ । यस भन्दा अगाडिका सबै वर्षहरूमा नतिजा प्रकाशित गर्न बसेका बैठकमा आमन्त्रित सदस्यका रूपमा सहभागी गराउने चलन थियो ।
तर आज नतिजा प्रकाशन गर्नु भन्दा अघि बसेको बोर्ड बैठकमा राष्ट्रिय परीक्षा बोर्ड कक्षा ११ र १२ का परीक्षा नियन्त्रक कृष्ण शर्मालाई नबोलाइएको जानकारी प्राप्त भएको छ । यस भन्दा अगाडी एसईईको नतिजा सार्वजनिक गर्दा कक्षा ११ र १२ का परीक्षा नियन्त्रकलाई अनिवार्य सहभागी गराईने र कक्षा १२ को नतिजा सार्वजनिक गर्दा कक्षा १० का परीक्षा नियन्त्रकलाई अनिवार्य सहभागी गरउँदै आउने चलन थियो ।
यसबारेमा परीक्षा नियन्त्रक कृष्ण शर्मालाई बुझ्दा आफूलाई कुनै जानकारी नगराइएको र पहलो पटक नबोलाइएको बताए । उनले भने यो “वर्ष एसईईको नतिजा सार्वजनिक गर्दा बोलाइएन । यस्तो भएको पहिलो पटक हो । यस भन्दा अगाडी आमन्त्रित सदस्यका रूपमा बोलाउने चलन थियो । कक्षा १२ को नतिजा सार्वजनिक गर्दा कक्षा १० का परीक्षा नियन्त्रकलाई र एसईईको नतिजा सार्वजनिक गर्दा कक्षा ११ १२ का परीक्षा नियन्त्रकलाई अनिवार्य बोलाउने गरिन्थ्यो ।”



