आज आमाको मुख हेर्ने दिन


काठमाडौं /११ बैशाख– हिन्दु धर्म अनुसार आज बैशाख कृष्ण औंसी अर्थात् आमाको मुख हेर्ने दिन हो । आजको दिन नौ महिना सम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गरिन्छ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ ।


आजको दिन मातातीर्थमा मन्दिरमा भक्तिजनहरुको ठूलो भिड लाग्ने गर्दछ । मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास रहेको छ । त्यसैले, आजको दिन आमा नहुनेहरु त्यहाँ गएर आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गर्ने गर्छन् ।


मातातीर्थ औंसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्दछ । तिर्थाटनमा सहभागीहरुले मातातीर्थ कुण्डमा स्नान गर्दछन् । भनाई अनुसार पहिले मातातीर्थमा गोठालाहरुले गाईवस्तुहरु चराउने मैदान थियो । एक दिन त्यो मैदानमा एउटा गोठालाले फ्याँकेको रोटीको टुक्रा अनाचक हराउन पुग्यो । त्यो घटनाले गोठालाहरु अचम्मित भए । गोठालाले पुन् अरु रोटीका टुक्राहरु पनि फ्याँके । ती टुक्राहरु क्रमश हराउँदै गए । ती गोठालाहरु मध्ये एउटाको आमा थिइन् भने अरुका आमा थिएनन् । तर आमा हुने गोठालाले फालेको रोटीको टुक्रा भने हराएन् । आमा नहुने गोठालाहरुले फ्याँकेका रोटीका टुक्रामात्रै हराए । उक्त दिन बैशाख कृष्णपक्ष औंसी थियो । यो कुरा अरु गाउँलेहरुले पनि थाहा पाए । गाउँलेहरुले उक्त दिन मृत्यू भइसकेका आमाले छोराछोरीले दिएका चिज खाँदा रहेछन् भन्ने विश्वास गरे । त्यस पछि हरेक बर्ष उक्त औंसीका दिन मातातीर्थको चौरमा आमाको मृत्यू भइसकेकाहरुले विभिन्न मिष्ठान्न भोजन लगेर चढाउन थाले । पछि त्यहाँ एउटा कुण्ड समेत बनाइयो र मातातीर्थका नामले प्रचलनमा ल्याइयो । यसरी हरेक बर्ष आमा नहुनेहरुले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठामीठा खाने कुरा चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरुप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।


नौ महिना सम्म गर्भमा राखेर जन्म दिने ,संसार देखाउनेसाथै ममताकी खानि सम्पुर्ण आमाहरु प्रति नमन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *