काठमाडौँ/२१ वैशाख – शिक्षा मन्त्री सस्मित पोखरेलले नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना, संस्थागत विद्यालयहरूमा शुल्क निर्धारण तथा अनुगमन लगायतका शैक्षिक सुधारका विषयमा स्थानीय सरकारका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।
छलफलमा नगरपालिका महासङ्घ र गाउँपालिका महासङ्घका पदाधिकारी तथा काठमाडौँ र ललितपुर महानगरपालिकाका प्रमुख, मन्त्रालयका पदाधिकारी, गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
शैक्षिक क्षेत्र सुधारका लागि संविधानले दिएका जिम्मेवारीहरू सहकार्य र सहअस्तित्वका आधारमा पूरा गर्ने, शुल्क निर्धारण तथा अनुगमन, छात्रवृत्ति वितरणमा पारदर्शिता लगायतका विषयमा स्थानीय सरकारले पहल गर्ने र मन्त्रालयले सहयोग गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
साथै आगामी दिनमा प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रालयहरू लगायत अन्य सरोकारवाला निकायहरूसँग पनि समन्वय र सहकार्यको पहल जारी राखिने मन्त्रालयको भनाई छ ।



