काठमाडौं/१७ वैशाख – शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयको शुल्क अनुगमन गर्न सबै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।
देशका विभिन्न जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयहरुले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा चर्को शुल्क असुल गरिरहेको जनगुनासो बढेपछि सो निर्देशन दिएको हो ।
केन्द्रले देशभरका एकाइलाई एक परिपत्र जारी गर्दै अवैध शुल्क असुलीको सत्यतथ्य पत्ता लगाई जनगुनासोको सम्बोधन गर्न भनेको छ ।
“हाल देशका विभिन्न जिल्लाबाट सामुदायिक तथा संस्थागत विद्यालयबाट भर्ना लगायतका शुल्कहरु गैरकानुनी रुपमा असुल गरेको भन्ने गुनासाहरु प्राप्त भएका छन् । ती गुनासाहरुको सम्बन्धमा के कसो भएको हो ? स्थानीय तहसँग समन्वय एवं अनुगमन गरी सत्य तथ्य पत्ता लागाई विद्यमान परिधिमा रहेर गुनासोहरुको सम्बोधन गर्नु /गराउन हुन निर्णयानुसार अनुरोध छ ” पत्रमा भनिएको छ ।



