काठमाडौँ /१५ वैशाख – प्रधानाध्यापकलाई धर्काएको भन्दै सामाजिक सञ्जालमा आलोचित भएका रास्वपाका सांसद विश्वराज पोखरेलसँग विद्यालयले माफी मागेको छ ।
ओखल्ढुंगाको खिजीदेम्बा गाउँपालिका वडा नं. २ रगनीमा अवस्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले विज्ञप्ति सार्वजनिक गर्दै माफी मागेका हुन् ।
बैशाख १० गते बिहान ९ बजे प्रतिनिधिसभा सदस्य विश्वराज पोखरेल विद्यालयको समस्या तथा शैक्षिक गतिविधिको जानकारी लिन विद्यालयमा पूर्व कार्यक्रम अनुसार आउँदा विद्यालय प्रधानाध्यापक सन्त बहादुर मगर आफ्नै कार्यकक्षमा विद्यालयका समस्या तथा आवश्यक मागहरू पेस गर्ने तयारी भइरहेकोले स्वागतमा ढिला भएको विद्यालयले जनाएको छ ।
माननीय विश्वराज पोखरेल विद्यालय हाताभित्र प्रवेश गर्नु भएको रहेछ । सोही समयमा प्र.अ. विद्यालयका मागपत्र तयार गर्ने क्रममा व्यस्त भइ माननीय विद्यालय प्रवेश गर्नु भएको जानकारी समयमै थाह नपाइ केहिबेरपछि मागपत्र सहित स्वागत सत्कार गर्न कार्यालयबाट बाहिर निस्कँदा माननीयज्यू विद्यालयबाट छोटो समयमा नै बाहिर निस्किसक्नु भएको रहेछ विज्ञप्तिमा भनिएको छ ।
मागपत्रसहित प्रधानाध्यापक हतारिदै माननीयलाई बाहिरी गेटमा भेट तथा स्वागत गर्ने क्रममा माननीयका अभिव्यक्तिप्रति प्र.अ.ले मनन गरि क्षमा याचना सहित मागपत्र पेस गरी विद्यालयको कार्यालयमा गई विविध पक्षमा छलफल भइ सौहार्दपूर्ण वातावरणमा विदा भएको उल्लेख गरिएको छ ।
साथै विद्यालयका अध्यक्ष र प्रधानाध्यापकले यस घटनाले माननीयज्यूलाई मान मर्यादामा पर्न गएको आघात प्रति पुनः क्षमा याचना गरेका छन् ।
सांसद पोखरेलले प्रधानाध्यापकलाई थर्काएको भिडियोको सामाजिक सञ्जालमा आलोचना भएपछि माफी मागिसकेका छन्



