अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले माग पूरा नगरे आन्दोलन गर्ने

काठमाडौँ/१३ वैशाख – नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले आफ्ना मागहरू सम्बोधन नभए सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने जनाएको छ । आज राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी पहिलो चरणमा सरकारलाई ध्यानाकर्षण गराउने र त्यसपछि पनि माग सम्बोधन नभए सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाउने चेतावनी दिएको हो ।


वैशाख १२ गते शनिबार अस्थायी प्रकृतिका शिक्षक कर्मचारीको बृहत राष्ट्रिय भेलाले नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष विष्णु खत्रीको संयोजकत्वमा राहत तथा अस्थायी प्रकृतिका विद्यालय शिक्षक कर्मचारीको पेशागत सुरक्षा र सम्मानको लागि “नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासंघ तदर्थ समिति गठन“ गरिएको थियो ।


उक्त महासंघले विगत लामो समयदेखि आफूहरुले विभिन्न माग राखेर आन्दोलन गर्दै आए पनि सरकराले सम्बोधन नगरेको र नेपाल शिक्षक महासङ्घले बेवास्ता गरेसँगै आफूहरू छुट्टै महासङ्घ बनाउन बाध्य भएको जनाइएको छ ।


संयोजक विष्णु खत्रीले नेपाल शिक्षक महासङ्घले अस्थायी शिक्षक तथा कर्मचारीहरूलाई अन्याय गरेकाले आफूहरूले ट्रेड युनियन अधिकारको रक्षाका लागि स्वतन्त्र रूपले लाग्नु परेको बताए ।


नेपाल अस्थायी शिक्षक तथा कर्मचारी महासङ्घले १५ बुँदुे घोषणापत्र जारी गर्दै आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।