मुसा माथि किन औषधीको परीक्षण गरिन्छ ?


काठमाडौ/९ बैशाख – हालै केही महिना अघि नेपालले आफ्नो पहिलो स्याटलाइटलाई अन्तरिक्षमा पठाएको थियो । अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण गरिएको त्यस स्याटलाइट बोक्ने रकेटमा ४० वटा मुसा पठाइएको थियो । ती मध्ये २० वटा मुसालाई अन्तरिक्षमै टिटानस विरुद्ध खोप दिइएको थियो भने बाँकी मुसालाई दिइएको थिएन । ती मुसाहरुलाई अहिले पृथ्वीमा ल्याइएको छ र वैज्ञानिकहरु त्यसको परीक्षण गरिरहेका छन् । फाउन्डेसन फर वायो मेडिकल रिसर्चका अनुसार ९५ प्रतिशत औषधी परीक्षण मुसामा नै गर्ने गरिएको पाइन्छ ।

किन वैज्ञानिकहरुले प्राय औषधीको परीक्षण मुसा माथि गर्छन् त ?


सर्वप्रथम त मुसाको आकार सानो हुन्छ । उनीहरुलाई घरमा सजिलै राख्न सकिन्छ । उनीहरुलाई पाल्न पनि त्यति कठिन हुँदैन । मुसाहरु सानो हुने भएकाले खानेकुरा पनि किन्न धेरै कष्ट गर्नु पदैन । कुनै पनि ठूलो जनावरको तुलनामा मुसामा परीक्षण गर्न निकै सजिलो हुन्छ । मुसालाई नियन्त्रणमा राख्न पनि गाह्रो नहुने र घरको वरिपरि सजिलै पाइने कारण मुसामा परीक्षण गरिन्छ । मुसा कुनै पनि चिसो, तातो मौसममा आफ्नो तापक्रमलाई बनाई राख्न सक्छ ।


त्यसैगरी, मुसाहरुले प्राय १९ देखि २१ दिन भित्रमा नै सन्तान उत्पादन गर्न सक्छन् । छोटो समयमा नै बच्चा जन्माउने भएकोले वैज्ञानिकहरुले कम समयमा नै धेरै पुस्ताको मुसामा अनुसन्धान गर्न सक्छन् । परीक्षणको लागि भनेर मुसालाई छानिनु मूख्य कारण भनेको मुसाको जेनेटिक, जैविक तथा व्यवहारिक गुण मानिससँग मिल्ने भएको कारणले पनि हो । मुसामा पनि मान्छेको सरह रक्त कोशिका, उत्पादन, पाचन प्रणली, हृदय प्रणाली हुन्छ । मानिसको शरीरमा देखिने रोग मुसाको शरीरमा पनि देखिन्छ । त्यसै, कारण वैज्ञानिकहरुले मुसामा बढि भन्दा बढि परीक्षण गर्ने गर्छन् । मुसामा परीक्षण गरेर धेरै औषधीहरु उत्पादन भएको छ र ती औषधीहरुले काम पनि गरिरहेको छ ।