काठमाडौँ /२ चैत – इम्पेरियल वर्ल्ड स्कुलले आयोजना गरेको गणित प्रदर्शनी सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय पाई दिवसको अवसरमा ’सिक्ने र सिकाउने कला’ लाई उत्सवको रूपमा मनाउँदै विद्यालयले विद्यार्थीहरूको गणितीय दक्षता प्रदर्शन गर्न यो कार्यक्रम आयोजना गरेको हो ।
कक्षागत सिकाइको प्रतिबिम्ब झल्किने गरी प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले आफ्नो स्तरअनुसारका गणितीय अवधारणा र सिर्जनशीलता प्रस्तुत गरेका थिए ।
कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले विभिन्न क्रियाकलापमार्फत आफूले कक्षाकोठामा सिकेका आधारभूत गणितीय ज्ञानलाई प्रस्तुत गरे । उनीहरूको प्रस्तुतिमा इम्पेरियल वर्ल्ड स्कुलको विशिष्ट शिक्षण पद्धतिको झलक देखिन्थ्यो ।
यसैगरी कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूले ’खेलमा आधारित विधि’ प्रयोग गर्दै गणितलाई वास्तविक जीवनका भोगाइहरूसँग जोडेर विभिन्न प्रोजेक्टहरू तयार पारेका थिए ।
९ कक्षा माथिका विद्यार्थीहरूले गणितको व्यावहारिक प्रयोगमा जोड दिँदै दैनिक जीवनमा गणितको महत्व र यसको उपस्थिति कसरी छ भन्ने विषयमा गहन परियोजनाहरू प्रदर्शन गरे ।
कार्यक्रममा विभिन्न कक्षाका अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । अभिभावकहरूले गणितका स्टलहरू अवलोकन गर्नुका साथै विभिन्न गणितीय गतिविधिहरूमा आफैँ सहभागी भएर बालबालिकाको सिकाइको आधारलाई नजिकबाट बुझ्ने अवसर पाए ।
अन्तर विद्यालय संवाद र सहकार्य
यस प्रदर्शनीको मुख्य आकर्षण साझेदार विद्यालयहरूको सहभागिता पनि रहेको थियो । मदन आश्रित स्कुल, गणेश माध्यमिक विद्यालय, लिटिल लाइट स्कुल र भद्रकाली स्कुलका विद्यार्थीहरूले प्रदर्शनीको अवलोकन गर्दै इम्पेरियल वल्र्ड स्कुलका विद्यार्थीहरूसँग गणितीय संवाद गरे । यसले विद्यार्थीहरूबिच आपसी सिकाइ र सञ्चारको वातावरण तयार गर्न सहयोग गरेको थियो ।

मनोरञ्जनसँगै गणितको सिकाई
प्रदर्शनीमा विभिन्न गणितीय खेलहरूको आयोजना गरिएको थियो । विद्यार्थीहरूले खेल खेल्दै मनोरञ्जन मात्र लिएनन्, खेलकै माध्यमबाट आफूले सिकेका सिद्धान्तहरूलाई व्यवहारमा उतारे । “यो प्रदर्शनीले सबै तहका विद्यार्थीहरूलाई गणितप्रति रुचि जगाउन र अर्थपूर्ण सिकाइ अनुभव प्रदान गर्न एक उत्कृष्ट वातावरण सिर्जना गरेको छ ।“ गणित प्रदर्शनीले गणितलाई केवल किताबमा मात्र सीमित नराखी जीवनको अभिन्न हिस्साको रूपमा बुझ्न र सिकाउन सफल भएको छ ।

यो पनि पढ्नुहोस
गणित विषय व्यवहारिक जीवनसँग जोडेर पढाउन आवश्यक छ : शिक्षा सचिव पौडेल
गणित सम्मेलन हुँदै, सामुदायिक विद्यालयका गणित शिक्षकलाई अवसर



