डा.टेकनारायण पौडेल
प्रिन्सिपल,हिमालयन बोर्डिङ स्कुल
पोखरा, १७ कास्कि
हरेक व्यक्ति वा विद्यार्थीहरुलाई लामो समयसम्म कसरी अध्ययन गरेर सफल बन्न सकिन्छ भन्ने उपायका लागि समय व्यवस्थापन गर्ने तरिका बारे यो लेखमा प्रस्तुत गरिएको छ । हरेक मानिस समय व्यवस्थापन गर्न नसकेर वा भनौं समयको सही सदुपयोग गर्न नसकेर पछाडि परेका छन् । कहिलेकाही हेल्चक्रयाई गरेर वा प्रयोग नै गर्न नजानेर यस्तो हुन सक्छ । आफ्नो भविष्यको लक्ष्य प्राप्तिका लागि हरेक व्यक्तिले समयको सही सदुपयोग गर्न जान्नु पर्छ । यहाँ सही तरिकाले कसरी समयको व्यवस्थापन गर्ने भन्ने बारेमा केही बुँदाहरुमा छलफल गरिएको छ ।
हरेक ४०/५० मिनेटको बीचमा ब्रेक लिने
अध्ययनहरुले के भन्छ, भने लामो समयसम्म एकै ठाउँमा बसेर अध्ययन गर्न प्रायः कठिन नै हुन्छ । यस्तो खालको पढाई सफल अनि प्रभावकारी नहुन सक्छ । त्यसैले, प्रभावकारी तरिकाले पढ्नका लागि छोटो छोटो ब्रेक लिनुपर्छ । यसरी अध्ययन गर्दा विषयवस्तुमा फोकस गर्न सहज हुन्छ । यसरी अध्ययन गर्दागर्दै यदि आफूलाई उत्प्रेरित भएको महसुस भएन भने केही समयको लागि समय सेट गर्न सकिन्छ । १ र २ मिनेटको लागि रिफ्रेश समय मिलाउन् सकियोस । जसबाट हरेक व्यक्तिलाई आफ्नो लक्ष्यमा पुग्नको लागि सहज वातावरण बन्छ । कहिलेकाही हामी छोटोछोटो दुरीको यात्रा पनि गर्न सक्छौ, जसबाट पनि आफ्नो अध्ययन समयको लागि अझ बढी नै प्रेरित गर्न सकिने देखिन्छ । अध्ययन गरेको स्थानबाट उठेर यताउता हेर्ने, जसबाट विद्यार्थीको लागि दिमागमा ताजापन आउँछ । सफल अनि प्रभावकारी अध्ययन गर्ने विद्यार्थीको लागि हरेक कुरामा समय तालिका राख्दा अझ बढी प्रभावकारी हुन्छ ।
आवाज निकाल्ने
आजकलका बाबुनानीहरुले नियमित अध्ययन गरिरहेका हुन्छन् । तर, त्यो अध्ययन प्रभावकारी नभएको हुन सक्छ । त्यस्तो अवस्थामा नियमित बसी रहँदा नबुझेको कुरालाई चर्को सँग आवाज निकाल्नु प्रभावकारी हुन्छ । जसरी शिक्षकले कक्षामा अध्ययापन गराउँदा आवाज निकाल्नु हुन्छ । त्यसरी नै विद्यार्थीले पनि चर्को आवाज निकाल्नु जरुरी छ, जसबाट पढेको कुरा बुझिन्छ भने लामो समय सम्म स्मरण रहन्छ ।
नोट बनाउने
अध्ययन गर्दा हरेक कुराको लागि सानोसानो नोट बनाउनु पर्ने हुन्छ । नोट बनाउँदा हरेक कुरा नबिराइकन गर्न सकिन्छ । आफूले पढ्न लागेका हरेक कुराको लिस्ट बनाउने त्यो पनि कुन काम, कुन समयमा गर्ने, त्यसको सबै विवरण भयो भने अगाडी बढ्न अझ सजिलो हुन्छ ।
सामाजिक सञ्जालको सही सदुपयोग
आजको सबैभन्दा चुनौतीको साधन मोबाइल अनि टेलिभिजन (Social media) प्रयोग गलत तरिकाले गर्नु हो । यस्ता साधनहरुको सही तरिकाले प्रयोग गर्न जाने अचुक औषधि हुन । तर, हाम्रा छोराछोरीले यिनीहरुको दुरुपयोग गरिरहेका छन् । कतिपय बाबुनानीले आफ्ना अनपढ बाबुआमालाई सोझै छलेका छन् भने कति आमाबाबुले छोराछोरीको स्वतन्त्रताको लागि नै छाडेको पाईन्छ । यसलाई नियन्त्रण गरी छोराछोरीको लागि ती वस्तुहरुको आवश्यकता कस्तो हो भन्ने कुरा समयमा बुझाउन नसक्नु अभिभावकको कमजोरी हो । अभिभावकहरुले बालबालिकालाई त्यसका फाइदाहरुको उपयोग गर्न पनि सिकाउन जरुरी छ । यसमा बाबुनानीहरु आफै पनि सचेत भए भने अझै राम्रो हुन्छ ।
बाबुनानीहरुले परीक्षाको समय भएको बेला होस् वा अन्य समय होस् अनावश्यक व्यक्तिहरुलाई फ्लो गर्दै सामाजिक संजाल ( Social site and apps) मा समय बर्बाद नगर्दा राम्रो हुन्छ । आफूलाई सकारात्मक हिसाबले सहयोग गर्ने मानिसको संगत सामाजिक संजालमा राम्रो हो । तर, अनावश्यक रुपले अरुलाई पछ्याउनु सायद भविष्य अनि वर्तमान दुवैमा घातक हुन्छ । कहिलेकाही अध्ययन गर्दा आफूले प्रयोग गर्ने मोबाइल, ल्यापटपहरुलाई बन्द गर्ने अनि सामाजिक संजालका नोटिफिकेसन हरुलाई पनि बन्द गर्दा राम्रो हुन्छ । मोबाइल फोनहरुलाई बन्द गर्न नमिल्ने भयो भने त्यस्ता साधनहरुलाई शान्त मोडमा राख्नु पर्छ, जसबाट हाम्रो एकाग्रता क्षमतालाई बढी सहयोग हुन्छ ।
पुनः अध्ययन गर्ने
विद्यार्थीले आफूले अध्ययन गरेको कुरालाई २४ घण्टा भित्रमा पुनः अध्ययन गर्नु जरुरी छ । अध्ययन गरेको कुरालाई पटक पटक पढी रहनु नै उच्चतम सम्झना शक्ति हो । शारीरिक रुपमा आफूलाई सक्षम राख्नु जरुरी छ । ताकि परीक्षाको समयमा कुनै दुख भोग्न नपरोस । त्यसैले हरेक समय मिलाएर आफ्नो स्वास्थ्यको ख्याल गर्नु जरुरी छ । हरेक दिन बिहान कम्तिमा २०/३० मिनेट सम्म हल्का खालको शारीरिक व्यायाम गर्ने अनि लामो लामो स्वास लिने र हाम्रो शरीरका हरेक कोषीकालाई स्वस्थ राख्ने । अरु बेला पनि विद्यार्थीले पढ्ने समयको सुरुवातमा लामो लामो स्वास लिएर २/३ मिनेट सम्म बस्ने अनि मात्र अध्ययन गर्दा राम्रो हुन्छ ।
विद्यार्थीको सफलताको लागि उत्तम उपाय भनेको समयको सही प्रयोग नै हो । जो जसले राम्रो सँग आफ्नो जीवनको परिभाषा बुझ्ने कोसिस गर्छ र सबल अनि सफल बन्ने इच्छा लिन्छ तिनीहरुले समयको सही सदुपयोग गर्नुपर्छ । समयको सही सदुपयोग गर्न सक्नु नै समयको महत्व बुझ्नु हो । आजका केटाकेटीहरुले समाजको महत्व अनि सामाजिक जीवनशैली पनि नबुझेका हुन सक्छन् । त्यसैले यो बेलामा अभिभावकले पनि आफ्ना छोराछोरीहरुलाई हिजोको आफ्नो बाल्यकाल अनि त्यो समयमा गरेका स–साना गल्तिको कारणले जीवनको प्रगतिमा आएका अवरोधलाई सम्झाउन सक्नु सबैभन्दा उत्तम हुन्छ ।