नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स–२०८२ सम्पन्न

काठमाडौँ/१ कार्तिक – नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स ( एएमयुएन) विभिन्न प्रस्तावहरू पारित गर्दै सम्पन्न भएको छ । काठमाडौँ उपत्यकाभित्रका विभिन्न नौवटा विद्यालयका माध्यमिक तहका २ सय ५ जना विद्यार्थीसम्मिलित तीन दिने एएमयुएन आइतबार सम्पन्न भएको हो ।


आयोजक अक्षरा स्कुलका १०८ जना विद्यार्थीसहित वेदिक स्कुल, स्प्रिङहिल स्कुल, दीक्षालय, रिलायन्स पब्लिक स्कुल, न्यू स्टारपोल, शिक्षालय नेपाल, मातृभूमि र गोल्डेन वड स्कुलका गरी २०५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीहरूले एएमयुएन वैश्विक समस्याको समाधान खोज्ने, विचार र अनुभव साटासाट गर्ने, आपसमा भाइचारा सम्बन्ध अघि बढाउँदै सञ्जाल विस्तार गर्ने उत्कृष्ट मञ्च भएको बताए ।


व्यवसायी तथा पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योतिको प्रमुख आतिथ्यमा शुक्रबार औपचारिक उद्घाटन भएको थियो । तीन दिनसम्म भएका कार्यक्रमका विभिन्न सत्रहरूमा प्रतिनिधिहरूले ’संयुक्त राष्ट्र सुरक्षा परिषद्’, ’सामाजिक, मानवीय र सांस्कृतिक मुद्दा समिति’, ’संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक परिषद्’, ’लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि संयुक्त राष्ट्र संघ’, ’संयुक्त राष्ट्र मानव अधिकार परिषद्’, ’शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त’, ’संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम’, ’अपराध रोकथाम तथा फौजदारी न्याय आयोग’ र ’अन्तर्राष्ट्रिय प्रेस’ गरी नौवटा कमिटीमार्फत प्रस्ताहरू प्रस्तुत गरी छलफल तथा प्रश्नोत्तरका माध्यमले पारित गरेका थिए । प्रत्येक कमिटीबाट उत्कृष्ट सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र पदान गरिएको थियो । कार्यक्रमको संयोजनसमेत कक्षा १० का विद्यार्थीहरू आफैँले गरेका थिए । उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावकहरूले प्रत्येक दिन एएमयुएनका सत्रहरूको अवलोकनसमेत गरेका थिए ।


विद्यार्थीहरूले युएनमा सङ्गठित देशहरूको प्रतिनिधि बनी विश्वपरिवेशका समस्या, अन्तर्राष्ट्रिय नीति र दृष्टिकोणका साथै विश्वव्यापी मूल्य र मान्यताको अध्ययन, विश्वमा उत्पन्न समस्या र तिनको उत्कृष्ट समाधान खोज्ने प्रयास गरेका थिए । संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) प्रतिनिधि अभिनव सिंह थापा र प्रसुना उप्रेती, शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसीआर) का प्रतिनिधि प्रयुष श्रेष्ठ र एहान न्यौपाने, संयुक्त राष्ट्र संघको अपराध रोकथाम तथा फौजदारी न्याय आयोग (सिसिपिसिजे) का प्रतिनिधि स्वेच्छा कर्ण र रेबाना घिमिरे, संयुक्त राष्ट्र वातावरण कार्यक्रम (युएनइपी) प्रतिनिधि सुभाश्री पाण्डे शुभम्ता एस सुनार, सामाजिक, सांस्कृतिक र मानवीय समिति (एसओसिएचयुएम) प्रतिनिधि सिद्दुब शर्मा बिडारी र कोशिश अधिकारी, आर्थिक तथा सामाजिक परिषद् (इसिओएसओसी) का प्रतिनिधि शिवाली श्रेष्ठ र प्राप्ति रानाभाट, अन्तर्राष्ट्रिय प्रेस (आइपी) का प्रतिनिधि सिन्धी भण्डारी र सुजल विक्रम थापा, संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) का प्रतिनिधि अरिप्त उपाध्याय र अवनी नेपाल, संयुक्त राष्ट्र संघको लैङ्गिक समानता र महिला सशक्तीकरण निकाय (युएनएमओडब्ल्युइएन) का प्रतिनिधि मलिशा कुशवाहा र तेजस्वी शिवाकोटीलाई प्रमाणपत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।


समापन समारोहमा प्रमुख सल्लाहकार अनमोल घिमिरेले कूटनीति, एकता र सहकार्यको भावनालाई अगाडि बढाउन एएमयुएन सावित भएको बताए । समापन समारोहपश्चात् भएको विशेष सांगीतिक कार्यक्रममा विद्यार्थीहरू रमाएका थिए ।


‘मोडेल युनाइटेड नेसन्स’ (मुन) संयुक्त राष्ट्रसंघबाट मान्यताप्राप्त एक विद्यालयस्तरीय शैक्षिक मञ्च हो । मुनका माध्यमले विद्यार्थीको सर्वाङ्गीण विकासमा टेवा पुगोस् भन्ने उद्देश्यले विद्यालयले विगत ८ वर्षदेखि एएमयुएन सञ्चालन गर्दै आएको छ ।