नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षक अख्तियारको फन्दामा

झापा/२६ कार्तिक – शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गर्ने शिक्षक अख्तियार अनुसन्धान आयोगको फन्दामा परेका छन् । झापा, दमक नगरपालिका वडा नं ५ स्थित श्री दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाले भारतबाट फर्जी शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको पाइएपछि अख्तियारको फन्दामा परेका हुन ।


प्राथमिक तहमा अध्यापन गराउदै आएका निरौलाको उजुरीका आधारमा अनुसन्धान हुँदा शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पाइएको आयोगले जनाएको छ ।


उनी २०५५ सालमा श्री दीपिनी आधारभूत विद्यालयकोे प्रा।वि।तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत रहेको अवस्थामा २०७५ चैत २८ गते स्थायी नियुक्ति लिएका थिए ।


विद्यालयमा नियुक्ति लिनका लागि बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा तहको परीक्षा उत्तीर्ण गरेको भनी नक्कली तथा झुट्‍टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी नियुक्ति लिएको पाइएको छ ।


शिक्षक निरौला अहिलेसम्म पनि शिक्षक पदमा कार्यरत रही तलब, भत्ता सहितको ओहोदा, लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरी साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० बमोजिम परिभाषित कसुर गरेको भन्दै सजायका लागि विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।