काठमाडौँ /२६ कार्तिक – चिकित्सा शिक्षा आयोगको एमबीबीएस शैक्षिक कार्यक्रमका लागि एकीकृत प्रवेश परीक्षामा ८ हजार ७ सय ७२ जना परीक्षार्थीहरू योग्यताक्रमको सूचिमा परेका छन् ।
आयोगले गत १५ कात्तिकमा सञ्चालन गरेको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेसँगै नामसूची परेका उम्मेदवारहरू आगामी शैक्षिक सत्र २०८२÷८३ का लागि विभिन्न चिकित्सा शिक्षण संस्थानमा भर्ना प्रक्रियामा सहभागी हुन पाउने छन् ।
आयोगका अनुसार यस वर्षको परीक्षामा देशभरका हजारौँ विद्यार्थीले सहभागिता जनाएका थिए । आयोगले सार्वजनिक गरेको नतिजामा परीक्षार्थीहरूको नाम, रोल नम्बर, प्राप्तांक र योग्यताक्रम उल्लेख गरिएको छ ।
यसैगरी उत्तरपुस्तिका भराइमा त्रुटि र परीक्षाको मर्यादा उल्लंघनका कारण रोल नम्बर सही तरिकाले नभरिएका ९८ जना, सेट र रोल नम्बर दुवै गलत किसिमले भरिएका ११ जना, र केवल सेट सहीसँग नभरिएका ५९ जना परीक्षार्थीहरूको उत्तरपुस्तिका मूल्यांकनमा नलिइएको जनाएको छ । साथै, परीक्षाको मर्यादाविपरीत कार्य गरेको प्रमाणित दुई जना परीक्षार्थीको उत्तरपुस्तिका पनि रद्द गरिएको आयोगले जनाएको छ ।



