काठमाडौँ/२६ कार्तिक – शिक्षक बढुवाको कार्यसम्पादन मूल्याङ्कनको नतिजामा शिक्षक सेवा आयोगको लापर्बाही देखिएको छ । ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूचीको नतिजामा आयोगको लापर्बाही देखिएको हो ।
आयोगले मधेस प्रदेशका शिक्षकहरूको बढुवाका लागि २०८२ जेठ २४ गते सार्वजनिक गरेको नतिजामा बारा जिल्ला बाहेक सप्तरीको प्राथमिक तहको नतिजा यथावत् रहनुका साथै महोत्तरी तथा पर्साको नतिजामा योग्यताक्रम परिमार्जन र अन्य जिल्लाकोे नतिजामा संशोधन गरेको छ ।
माध्यमिक तह द्वितीय श्रेणीमा बढुवा लागि २२ पदमा र प्राथमिक तह प्रथम श्रेणीमा बढुवाका लागि २८ पदमा आवेदन माग गरेको थियो । माध्यमिक तहमा बढुवाका लागि सार्वजनिक गरिएको नतिजामा २२ पद मध्ये १२ जना शिक्षकको नतिजा संशोधन भएको छ । प्राथमिक तहमा २८ पद मध्ये १४ जना शिक्षकको नतिजा संशोधन भएको छ । महोत्तरी र पर्साको नतिजामा पनि योग्यताक्रम परिमार्जन भएको छ ।
यसैगरी शिक्षा विकास निर्देशनालय, मधेस प्रदेश, धनुषाको निर्णय बमोजिम ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाको योग्यताक्रम सूचीमा विभिन्न जिल्लाका विज्ञापनका बढुवा सिफारिसउपर पर्न आएका उजुरीका आधारमा आयोगबाट पुनरावलोकन गर्दा धेरै संशोधन भएको आयोगको भनाई छ ।
आयोगले बढुवाको लागि निवेदन पर्न आएका उम्मेदवारहरू मध्येबाट शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबैभन्दा बढी अङ्क प्राप्त गर्ने शिक्षकहरूको नामावली प्रकाशन गर्ने गर्छ ।
तर यति धेरै शिक्षकहरूको एउटै नतिजामा नामावली संशोधन हुनुले आयोगको कार्यशैली माथि नै प्रश्न उठेको छ ।
शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालयले मागिएको आवेदनमा शिक्षकहरूको कार्यसम्पादन वा तथ्यांकलाई हेरेर आयोगमा पठाउने गर्छ साथै उक्त समितिमा आयोगका एकजना प्रतिनिधि समेत रहने व्यवस्था छ । नतिजालाई हेर्दा प्राप्त शिक्षकहरूको विवरणलाई आयोगले रुजुनै नगरी हचुवाका भरमा नतिजा सार्वजनिक गरेको देखिन्छ ।
आयोगका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त भुसालले शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालयले पठाएको तथ्यांकका आधारमा नतिजा सार्वजनिक गर्ने गरिएको उल्लेख गर्दै पुनरावलोकन गर्दा धेरै संशोधन भएको बताए । तर कसका कारणले नतिजामा व्यापक संशोधन भयो भन्ने प्रश्नमा भने अनभिज्ञता प्रकट गरे ।
हेर्नुहोस २०८२ जेठ २४ गते सार्वजनिक गरेको नतिजा


पुनरावलोकन पछिको नतिजा





