प्रिमियरले आयोजना गर्‍यो नेपालकै पहिलो डिप्लोमाथन विश्व संगोष्ठी

ललितपुर/२३ असोज – प्रिमियर इन्टरनेशनल आईबी कन्टिनियम स्कुलले नेपालकै पहिलो डिप्लोमाथन विश्व संगोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।


विश्वका राजदूत, नीति निर्माताहरू र नेतृत्वकर्ताको भूमिकामा उत्रिएका विद्यार्थीहरूले दुई दिनसम्म चलेको यो अन्तर्राष्ट्रिय बहस तथा नीतिनिर्माण कार्यक्रममा सहभागिता जनाएका थिए ।


कार्यक्रममा विद्यार्थीहरूले जलवायु परिवर्तन, विश्वव्यापी ई–कमर्स, सार्वजनिक स्वास्थ्य, भविष्यका लागि तयार शिक्षा, र फुटबल पर्यटन जस्ता विषयमा बहस र प्रस्ताव पेस गरे ।


विद्यार्थीहरुका जोशिला भाषणहरू, रोचक बहस र आकस्मिक संकट समाधानका अभ्यासले विद्यार्थीहरूको सोच, सृजनशीलता र नेतृत्व क्षमतालाई थप निखारे । साथै कार्यक्रमको समापनमा प्रिमियरका विद्यार्थीहरूले सबै तहमा उत्कृष्ट प्रदर्शन गर्दै समग्रमा उत्कृष्ट प्रतिनिधिमण्डल हात पार्न सफल भए ।


प्रिमियरकी शैक्षिक निर्देशक प्रवीणा थापाले प्रिमियर सधैं जोखिम लिन र नयाँ काम सुरु गर्न तयार रहने संस्था भएको उल्लेख गर्दै विद्यालय शिक्षालाई नयाँ उचाइमा पु¥याउने डिप्लोमाथन विश्व संगोष्ठी महत्वपूर्ण उपलब्धि रहेको बताइन । साथै दुई दिनसम्म सञ्चालन भएको कार्यक्रमले नेपालका विद्यार्थीहरू पनि विश्वका युवासँग समान स्तरमा ठूला विषयमा छलफल गर्न र समाधान खोज्न सक्षम रहेको दाबी गरिन ।


उपत्यका भित्र र बाहिरका १० भन्दा बढी विद्यालयका १ सय ५० भन्दा बढी विद्यार्थीहरूको सहभागी रहेको यो कार्यक्रमको विशेषता यसको दुई चरणमा आधारित विश्वव्यापी शिक्षण मोडेल हो ।


पहिलो चरणमा विद्यार्थीहरूले विभिन्न देशका विद्यार्थीहरूसँग कूटनीति र नेतृत्व प्रशिक्षणमा सहभागी भएर छलफल, सहकार्य, र बहसको माध्यमबाट विश्वव्यापी दृष्टिकोण विकास गरे । दोस्रो चरणमा उनीहरूले सिकेका सीपहरूलाई प्रत्यक्ष रूपमा प्रयोग गर्दै प्रिमियर इन्टरनेशनल आईबी कन्टिनियम स्कुलको परिसरमा सम्पन्न डिप्लोमाथन विश्व संगोष्ठीमा बहस, नीति निर्माण र संकट समाधानका अभ्यासहरू गरे ।


यसले विद्यार्थीहरूलाई विश्व दृष्टिकोणलाई स्थानीय सन्दर्भमा रूपान्तरण गर्ने अवसर प्रदान गर्‍यो भने अर्को चरणमा विद्यार्थीहरूले डिप्लोमाथन विश्व संगोष्ठी ग्लोबल राउन्ड जापान २०२६मा नेपालको प्रतिनिधित्व गर्नेछन् । जहाँ उनीहरूले विश्वका अग्रणी युवा राजदूतहरूसँग छलफल र बहस गर्ने अवसर पाउनेछन् ।