एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर होम सेन्टरमा लिइने तयारी


काठमाडौ / ४ बैशाख – एसईई, ११ र १२ का परीक्षा सञ्चालनका लागि परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र राष्ट्रिय परीक्षा बोर्डले शिक्षा विकास एकाइ र आफ्नो प्रदेश परीक्षा कार्यालयमार्फत अध्ययन थालेको छ । यस वर्षको एसईई, ११ र १२ को परीक्षा सामाजिक दूरी कायम गरेर लिइने तयारीका लागि गृहकार्य थालेको हो ।


राष्ट्रिय परीक्षा बोर्डले परीक्षा केन्द्र बढाएर परीक्षा लिने विषयमा गृहकार्य थालेको हो । कोरोना संक्रमणको जोखिमका कारण जारी लकडाउनबाट अवरुद्ध भएको परीक्षालाई व्यवस्थित गर्न र घरबाटै परीक्षा केन्द्रमा आउने जाने व्यवस्था गर्ने गरी परीक्षा केन्द्र तय गर्न लागिएको हो ।

। एसईईको परीक्षा गएको चैत ६ गतेदेखि तोकिएको थियो भने वैशाख ८ देखि १२ र २१ गतेदेखि कक्षा ११ को परीक्षा मिति तय गरिएको थियो । कोरोना संक्रमणको भयका कारण सरकारले चैत ५ गते एसईई परीक्षा स्थगित गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले लकडाउनलगत्तै परीक्षा सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ । यसैका लागि त्यस अघि नै केही केन्द्र थप गर्ने विषयमा गृहकार्य भइरहेको हो । होम सेन्टर नगरी एकै दिनमा परीक्षा दिएर फर्किने वातावरण बनाइने र होम सेन्टर सम्भव नभएकाले विद्यार्थीलाई घर पायक केन्द्र बनाउने गृहकार्य थालिएको छ । बोर्डले एसईई र १२ को परीक्षा एकैदिन सञ्चालन गर्ने तयारी गरेको छ । बिहान एसईई र दिउँसो १२ को परीक्षा सञ्चालन गर्ने बोर्डको योजना छ ।


यसवर्ष करिब ५ लाख विद्यार्थीले एसईई परीक्षामा सहभागिता जनाइरहेका थिए भने १२ र ११ मा करिब ९ लाख गरी जम्मा १४ लाख विद्यार्थीलाई नियमित परीक्षामा सहभागिता जनाउने छन् ।