एसईईका विद्यार्थीका लागि दूर शिक्षा पाठशाला

काठमाडौं/२९ चैत– पाल्पाको सामुदायिक रेडियो मदनपोखराले एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी दूर शिक्षा पाठशाला रेडियो कार्यक्रम शुरु गरेको छ ।
तानसेन नगरपालिकाको सहकार्यमा सुरु गरिएको उक्त रेडियो कार्यक्रममा बिहान सवा १० बजेदेखि दिउँसो ४ बजेसम्म एसईईका विद्यार्थीहरुलाई लक्षित गरी पठनपाठन गराईन्छ । नगरपालिकाका अनुसार दूर शिक्षा पाठशाला रेडियो कार्यक्रममा एसईई परीक्षा दिने तयारी गरिरहेका विद्यार्थीहरुलाई लक्षित गरी अंग्रेजी, गणित, विज्ञान, सामाजिक, नेपाली र कम्प्युटर विषय पढाईन्छ ।
नगरपालिकाका प्रमुख अशोककुमार शाहीले हरेक विषयको कक्षा हरेक दिन ४५ मिनेट हुने बताए । उनका अनुसार विद्यार्थीहरुले पढाएको नबुझेमा तत्कालै प्रश्न सोध्न समेत व्यवस्था गरिएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई केन्द्रीत गरी रेडियोबाट पढाउन सुरु गरिएको उनको भनाई छ ।