उपकुलपतिको कार्यालय तोडफोड तथा तालाबन्दी प्रति शिक्षा मन्त्रालयको ध्यानाकर्षण

काठमाडौं/२१ जेठ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा तोडफोड तथा तालाबन्दी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विश्वविद्यालय जस्तो विशुद्ध प्राज्ञिक संस्था र लाखों विद्यार्थीको भविष्य निर्माणका लागि दैनिक पठनपाठन प्रणाली सञ्चालनमा क्रियाशील रहनु पर्ने निकायमा कुनै पनि बहानामा यस्ता हिंसात्मक, गैरकानूनी र शैक्षिक क्यालेण्डरलाई बाधा पुर्याउने कुनै पनि कार्य सदैव निन्दनीय र भत्र्सनायोग्य रहेको मन्त्रालयको भनाई छ ।


‘त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को दफा १७ (३) अनुसार सहकुलपतिका हैसियतबाट माननीय मन्त्रीज्यूले उक्त घटनाका सम्बन्धमा सुक्ष्म अध्ययन गरिरहनु भएको छ । साथै मन्त्रीज्यूले यस्तो अनुशासनहीन र गैरकानूनी कार्यमा संलग्न जोसुकै भएपनि गम्भीर अनुसन्धानबाट पहिचान गरी तिनलाई कानूनी कारबाहीको दायरामा ल्याउन गृह प्रशासनको उच्च तहसँग परामर्श गर्दै सम्बन्धित पदाधिकारीलाई आवश्यक अनुरोध गर्नु भएको छ’ मन्त्रालयका प्रवक्त एवम् सहसचिव शिवकुमार सापकोटाले विज्ञप्मिा भनेका छन् ।


यसैगरी भविष्यमा कुनै पनि विश्वविद्यालय तथा शैक्षिक संस्थामा यस्ता अप्रिय घटना हुन नदिने गरी सम्बन्धित पक्षबाट स्वतःस्फूर्त रूपमा सावधानीपूर्ण प्रयत्न गर्न आग्रह गरिएको छ ।