शिक्षकको समस्या टुङ्गिन्छ, सरकारले उहाँहरूका कुरा सुन्छ : प्रधानमन्त्री

काठमाडौं/२३ चैत – प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले आवाज सुन्ने भएर शिक्षहरूले आन्दोलन गरेको बताएका छन् । आज (शनिवार) थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई सञ्चारकर्मीहरूले शिक्षकहरूको प्रदर्शनबारे प्रश्न गरेपछि उक्त कुरा व्यक्त गरेका हुन् ।


उनले शिक्षकहरूको माग र मुद्दाहरू छलफल र संवादमार्फत सम्बोद्धन गरिने बताए । समस्या टुङ्ग्याएर शिक्षकहरूलाई आफ्नो कार्यक्षेत्रमा पठाउने उनको भनाई छ ।


उनले भने ‘शिक्षकहरूलाई म धन्यवाद भन्न चाहन्छु, किनभने सरकार माथि विश्वास गरेर उहाँहरू यो प्रदर्शनमा आउनु भएको छ । नत्र पहिले पहिले प्रदर्शन गर्नु हुन्थिएन यसरी, किनभने प्रदर्शन गर्यो गर्यो कानमा बतास लाग्दैन भने किन प्रदर्शन गर्ने भन्ने हुन्थ्यो । अहिले चाहिँ आवाज उठाएपछि त्यो सरकारले सुन्छ भन्ने उहाँहरूलाई विश्वास छ । त्यसकारण आउनु भएको हो । हामी कुराकानी पनि गर्छौँ । सरकारले उहाँहरूका कुरा सुन्छ पनि । न उहाँहरू सरकार विरोधी हो, न सरकार उहाँहरूको विरोधी हो । यो सबै हामी एउटै हौँ । के कति गर्न सकिन्छ के कस्तो गर्नुपर्छ भन्ने कुरा परस्परमा बसेर सरसल्लाह गरेर छलफल गरेर टुङ्गिने हो । धेरै यसमा उहाँहरूले पनि दुःख नपाए हुन्छ र सरकारले कुनै नकारात्मक दृष्टिकोण राख्दै राख्दैन । किन राख्नु पर्यो र ? उहाँहरू अब आइहाल्नु भएको छ । आइपर्नु पर्ने पनि थिएन । एउटा सानै डेलीगेशन आएर भन्दा पनि हुन्थ्यो । तर पनि उहाँहरूले अलि सरकारले सुनेन कि भनेर पहिले पहिले जस्तै ठान्नु भो होला । तर अलि ठुलै जमात जानुपर्छ भनेरै आउनु भो होला । यो विश्वासका लागि म उहाँहरूलाई धन्यवाद भन्छु । समस्या टुङ्गिन्छ र जानुहुन्छ ।’