काठमाडौं/१४ चैत–शैक्षिक परामर्शदातृ संस्थाको छाता संगठनहरुले आज संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको विषम परिस्थितिको अवस्थामा अष्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई सहयोग गर्न आग्रह गरेका छन् ।
इक्यान, फेकन, आइरिन, नायर र एकाले अष्ट्रेलियन सरकार, नेपालका लागि अष्ट्रलिया दूतावास, अष्ट्रलिया हाई कमिसन अफ इन्डिया, अष्ट्रलियन कम्युनिटी, अष्ट्रलियाको नेपाली दूतावास लगायतका सम्बन्धित निकायहरुलाई अष्ट्रलियामा रहेका नेपाली विद्यार्थीहरुलाई यस्तो अवस्थामा सहयोग गर्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा अष्ट्रलिया सरकारले स्थानीय विद्यार्थीहरुलाई जसरी सेवा सुविधा उपलब्ध गराएको छ । त्यसैगरी, उच्च शिक्षाका लागि अष्ट्रलिया आएका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई पनि सुविधा दिनुपर्ने उल्लेख गरिएको छ । विद्यार्थीहरुले काम नपाई रहेको यस्तो अवस्थामा अष्ट्रलियन सरकारले उनीहरुको बारेमा पनि सोच्नुपर्ने उनीहरुको भनाई छ ।
उनीहरुले अष्ट्रलियन शैक्षिक संस्थाहरु र सरकारलाई केही सुझाव समेत दिएका छन् । कोरोना भाइरसका अष्ट्रलियामा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरु समस्यामा परेको खबर आएसँगै छाता संगठनहरुले विद्यार्थीहरुको समस्यालाई मध्यनजर गर्दै अष्ट्रलियन सरकारसँग उनीहरुलाई सहयोग गर्न आग्रह गरेका
हुन् ।