काठमाडौं/१४ चैत–कोरोना भाइरसका कारण उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरु अहिले समस्यामा परेका छन् । विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण उनीहरु समस्यामा परेका हुन् ।
भिसाको म्याद सकिनु र भाइरसका कारण काम नपाउँदा उनीहरुलाई त्यहाँ जीवनयापन गर्न समस्या भएको हो । यतिबेला भाइरसका कारण अष्ट्रेलिया, जापान, चीन, साइप्रस, फ्रान्स, यूके, न्युजिल्याण्ड, स्पेन लगायतका देशमा उच्च शिक्षा आर्जन गर्न गएका विद्यार्थीहरु आर्थिक र मानसिक समस्यामा परेका छन् ।
नेपाल सरकारले लकडाउन गरेसँगै विदेश गएका नेपाली विद्यार्थीहरु नेपाल फर्किएर आउन पनि सकेका छैनन् । त्यस्तो अवस्थामा नेपालमा रहेका शैक्षिक परामर्शदातृ संस्थाहरुले के कस्ता कामहरु गरिरहेका छन् त ? विदेशमा रहेका विद्यार्थीहरुको समस्यालाई कसरी समाधान गर्ने तयारी गरिरहेका छन् ?
अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थानिय विद्यार्थी सरह सहयोग गर्न आग्रह गरेका छौ
![](https://khabareducation.com/wp-content/uploads/2020/01/unnamed-3-1024x810.jpg)
अध्यक्ष
नेपाल शैक्षिक परामर्श संघ (इक्यान)
अष्ट्रेलिया लगायत अरु देशमा रहेका नेपाली विद्यार्थीहरुसँग हाम्रा शैक्षिक परामर्शदातृ संस्थाहरुलाई सम्पर्कमा रहेर विद्यार्थीहरुलाई परेको समस्यामा आफूले जानेको र सकेको सहयोग गर्न अनुरोध गरेका छौं । त्यस्तै, धेरै विद्यार्थी अष्ट्रेलियामा रहेकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई स्थानिय विद्यार्थी सरह सहयोग गर्न पनि अष्ट्रेलिया सरकारलाई निरन्तर हामीले अनुरोध गरिरहेका छौं । अरु देशको हकमा त्यँहा रहेका एनआरएन लगायत विभिन्न संस्थाहरुसँग विद्यार्थीलाई सहयोग गर्न अनुरोध गरेका छौं ।
साथै, हाम्रो सम्पर्कमा रहेका र हामीले अनुरोध गर्न सहज हुने कलेजहरुलाई मार्च, अप्रिल र मे को फि अहिले नलिन र पछि अवस्था सामान्य भएपछि मात्र लिन अनुरोध गरेका छौं भने विदेशबाट गएर त्यहाँ कलेज, कन्सल्टेन्सी सञ्चालन गरेका र व्यापार व्यवसाय गरेकाहरुसँग सम्पर्क गरेर त्यहाँको सरकारसँग अनुरोध गरिदिन र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई सकेसम्म सहयोग गर्न भनेका छौं ।
त्यहाँको सरकारले जसरी स्थानीय विद्यार्थीलाई राहत प्रदान गरेको छ । त्यसैगरी, नेपाली विद्यार्थीलाई पनि राहत दिनुपर्छ भनी हामीले पहल गरिरहेका छौं । त्यस्तै, विदेश अध्ययनमा गएका नेपाली विद्यार्थी कुन कुन देशमा छन् । तिनीहरुलाई हाम्रा संस्थाहरुसँग सम्पर्क गरी विद्यार्थीलाई सहयोग, सपोर्ट गर्न अनुरोध गरेका छौं ।
कुटनीतिक रुपमा पहल गर्ने भनेर लागिरहेका छौं
![](https://khabareducation.com/wp-content/uploads/2020/01/unnamed-10-1024x621.jpg)
अध्यक्ष
स्वतन्त्र शैक्षिक परामर्श संघ,नेपाल ( फेकन )
अहिलेको अवस्थामा विद्यार्थी सबै सम्पर्कमा रहने भन्ने अवस्था रहेन । तत्काल हामीले नर्वे, साइप्रसमा नेपाली विद्यार्थीहरुलाई समस्या भएको सुन्नमा आएको छ । विद्यार्थीहरुलाई कामको अभाव देखिएको छ । अष्ट्रेलियामा भएकाहरुलाई धेरै समस्या देखिएको छैन । केही विद्यार्थीहरुले काम पाएका छन् र काम नपाएका विद्यार्थीहरुकोे समस्या थोरै छ ।
हामीले अष्ट्रेलियाका एनआरएनसंग सम्पर्क गरेर विद्यार्थीलाई सहयोग गर्न समन्नवय गरेका छांै । त्यस्तै, अनलाइन कक्षाहरु प्रभावकारी भएका छैनन् । त्यसलाई प्रभावकारी बनाउने कुरामा पहल गरेका छौ । त्यहाँ रहेर अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पनि सरकारलाई कर तिरेका छन् । त्यसकारण यो अवस्थामा स्थानिय विद्यार्थीलाई जस्तै सरकारले सेवा सुविधा दिनु पर्छ भनेर हामीले नेपालमा रहेको अष्ट्रेलियन दूतावास मार्फत अष्ट्रेलिया सरकारसँग अनुरोध गरेका छौ । अष्ट्रेलिया स्थित नेपाली दूतावास मार्फत यसलाई सहजीकरण गर्न सकिन्छ भन्नेमा हामी लागेको छ । त्यस्तै, यूके लगायत अरु देशमा पनि यही अवस्था भएकाले हामीले सबै देशमा कुटनीतिक रुपमा पहल गर्ने भनेर लागिरहेका छौं ।
विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्न अनुरोध गरिरहेका छौ ।
![](https://khabareducation.com/wp-content/uploads/2020/01/unnamed-13.jpg)
अध्यक्ष
राष्ट्रिय शैक्षिक परामर्श संघ( नेका )
न्युजिल्याण्डतिर पूरै लकडाउन भएका कारण इन्यिन मूलका मान्छेले खाना खुवाउने र विद्यार्थीहरुलाई सहयोग गर्ने गरेका छन् भने हामीले पनि सम्पर्कमा रहेर सहयोग गर्न अनुरोध गरेका छौं । स्पेनमा भएका विद्यार्थीहरुले नियमित जस्तै सहज दैनिकी बिताएको कुरा हामीलाई विद्यार्थीहरुले बताएका छन् । हामी निरन्तर सम्पर्कमा रहेर विद्यार्थीको अवस्था वुझिरहेका छौ । साथै, विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्न अनुरोध गरिरहेका छौ ।
आ–आफ्ना विद्यार्थीको अवस्था के छ भनेर कलेजसँग सम्पर्क राखेर बुझ्न हामीले हाम्रा सदस्या संस्थाहरुलाई भनेका छौं । तर, कति देशहरुमा अन्तर्राष्ट्रिय विद्यार्थीहरुले पनि स्थानीय विद्यार्थी सरहकै सुविधा पाउने भनिएको छ । अष्ट्रलियाको कुरा गर्नुपर्दा अन्तर्राष्ट्रिय विद्यार्थीको लागि पनि सरकारले ७ सय ५० अष्ट्रेलियन डलर विद्यार्थीहरुलाई सहयोग गर्न छलफल भएको छ ।