नेपालको कोरोना परीक्षण विश्वसनीय छ: डब्लूएचओ

काठमाडौं/११ चैत– विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको परीक्षण नेपालमा विश्वसनीय र चित्त बुझ्दो नभएको भन्दै प्रश्न उठिरहेको बेलामा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपालको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले गरेको कोरोना भाइरसको परीक्षण विश्वसनीय भएको बताएको छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयको आग्रहमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालको अध्ययन गर्न डब्लूएचओले माइक्रोबायोलोजिस्ट डाक्टर जोनाथन एस्क्रोफ्टलाई खटाएको थियो । उनले मार्च १३ देखि २१ सम्म प्रयोगशालाको अध्ययन गरेर सोमबार केही सुधारको सिफारिससहितको प्रतिवेदन मन्त्रालयलाई बुझाएका थिए ।
प्रतिवेदन अनुसार प्रयोगशालाले कोरोना भाइरसको परीक्षणमा सबै प्रक्रिया पूरा भएको र ल्याब, उपकरण र खटाइएको जनशक्तिको प्रदर्शन पनि राम्रो रहेको उल्लेख छ । प्रतिवेदनमा परीक्षा क्षमता भने विस्तार गर्नुपर्ने सुझाव दिइएको छ ।