काठमाडौं /९ चैत्र –कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै अहिले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । ०७२ सालको भूकम्पपछि शैक्षिक संस्थाहरुलाई सुरक्षित स्थालका रुपमा हेरिन्छ । पछिल्लो समय महामारीको रुपमा देखिएको कोरोना भाइरसको उपचारका लागि शैक्षिक संस्थाहरुले सरकारलाई आवश्यकता परेमा क्वारेन्टाइन निर्माणका लागि कक्षाकोठा उपलब्ध गराउने भएका छन् । माध्यमिक विद्यालय तथा उच्च शिक्षालय संघ (हिसान)ले प्रेस विज्ञप्ति नै जारी गरी पाँच हजार कक्षाकोठा क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिने निर्णय गरेको थियो । हिसानले देशभरका सम्पूर्ण शैक्षिक संस्थामा परीक्षालगायतका गतिविधिहरु स्थगित भएकाले सरकारलाई आवश्यक परेको खण्डमा क्वारेन्टाइन प्रयोजनका लागि पाँच हजार कक्षाकोठा र स्वयमसेवकहरु उपलब्ध गराउने निर्णय गरेको हो । हिसानका कार्यबाहक अध्यक्ष युवराज शर्माले सरकारसँगको समन्वयमा उपयुक्त भौतिक पूर्वाधार भएका हिसान अन्तर्गतका स्कुल तथा कलेजमा क्वारेन्टाइन व्यवस्था मिलाउने बताए ।
त्यस्तै, निजी विद्यालय संगठन प्याब्सन र एन–प्याब्सनले पनि सरकारलाई आवश्यक परेमा क्वारेन्टाइनका लागि कक्षाकोठा उपलब्ध गराउने भएका छन् । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले सरकारलाई आवश्यक परेमा आइसोलेसनका लागि कक्षाकोठा उपलब्ध गराउन तयार रहेको बताए । विपद्को समयमा सरकारलाई सहयोग गर्न तयार रहेको बताउँदै उनले भने,“देशभरका २० हजार कक्षाकोठा आइसोलेन निर्माणका लागि दिन तयार छौं ।”
यस्तै, एन–प्याब्सनले पनि क्वारेन्टाइन निर्माणका लागि कक्षाकोठा उपलब्ध गराउन तयार रहेको जनाएको छ । निजी विद्यालयका कक्षाकोठा ठूला हुनुका साथै सुविधा सम्पन्न भएकाले क्वारेन्टाइन निर्माणका लागि प्रयोग गर्न सकिने सुझाव आएपनि विद्यालय संगठनहरुले सरकारलाई आवश्यक परेको कक्षाकोठा क्वारेन्टाइन बनाउनका लागि दिन तयार भएका हुन् । तर, सरकारले अहिलेसम्म यस विषयमा कुनै औपचारिक धारण व्यक्त गरेको छैन ।