व्यक्तिगत भन्दा व्यवसायिक काम गर्ने संघको खाँचो छ : दीपक कोईराला

काठमाण्डौं/५ चैत्र– विगत १३ वर्षदेखि शैक्षिक परामर्श व्यवसायमा रहेर विद्यार्थीलाई शैक्षिक परामर्श दिदैं आईरहेका दीपक कोईराला राष्ट्रिय परामर्श संघ (नेका) को सचिव पदमा नियुक्ति भएका छन् । शैक्षिक परामर्श क्षेत्रलाई राम्रोसँग चिनेको र लामो अनुभव सम्हालेका कोईराला अधिवक्ता पनि हुन् ।
नेपालमा लगभग शिक्षा मन्त्रालयको अनुमति लिएका शैक्षिक परामर्श १५ सयको हाराहारीमा छन् । त्यसमध्ये, सात सय जतिले अनुमति कुरेको अवस्था छ । कम्पनि रजिष्ट्रारको कार्यालयमा ५ हजारको हाराहारीमा दर्ता भएका छन् । यति धेरै शैक्षिक परामर्श दातृसंस्था भए तर यिनै संस्थाको हक र हितको लागि काम गर्ने भनेर खोलिएका शैक्षिक परामर्श संघ संस्थागत भन्दा पनि बढी व्यक्तिगत स्वार्थमा रूमल्एिको देखियो जसले गर्दा सदस्यहरू बढी मारमा परे भने कसैलाई समस्या पर्दा पनि संघले राम्रो भूमिका ननिभाएको अवस्था भएको कोईरालाको भनाई छ ।
यस्तो अवस्थामा व्यक्तिगत भन्दा पनि बढी व्यवसायिक काम गर्ने संघको खाँचो छ भन्दै उनले भने । हाम्रो पहिलो मुख्य काम भनेकै व्यवसायिक हक हितका लागि लाग्ने हो । निस्वार्थ रूपमा हाम्रो व्यवसायिक साथीहरूलाई अप्ठेरो परेको बेलामा सहयोग र हौसला दिंदै शैक्षिक परामर्शलाई विशुद्ध सेवामूलक संस्था बनाउने मेरो उद्देश्य रहेको छ । त्यस्तै दोस्रो कुरा राज्यको सम्बन्धित निकायसँगै समन्वय गर्दै शैक्षिक परमर्श दातृ संस्थालाई व्यवस्थित बनाउनुपर्ने अवस्था रहेको हुँदा राज्यसँगै हातेमालो गर्दै र राज्यलाई सहयोग गर्दै अगाडि बढ्नेछौं । तेस्रो सबै सदस्यहरूलाई समान व्यवहार गर्दै यस क्षेत्रसँग आवद्ध भएका सदस्यलाई अप्ठेरो पर्दा उनीहरूलाई साथ र सहयोग दिनेछौं र चौथो देशमा रहेको शैक्षिक संस्थाहरूबीचको दूरी कम गर्दै उनीहरूसँग अन्तक्र्रिया गरेर हाम्रो विषयमा बुझाउनेछौं ”जस्ता प्रतिवद्धता सहित कोईराला नेकाको सचिव पदमा नियुक्ति भएका छन् ।