निजी विद्यालयले चैत महिनाको शुल्क फिर्ता गर्न संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं/५ चैत–संयुक्त विद्यार्थी संगठनले निजी विद्यालयसँग चैत महिनाको शुल्क फिर्ता गर्न माग गरेको छ ।
संयुक्त विद्यार्थी संगठनको मंगलबार बसेको बैठकले चैत महिनामा विद्यालय सञ्चालन नहुने भएकाले विद्यार्थीको चैत महिनाको शुल्क फिर्ता गर्न निजी विद्यालयसँग माग गरेको छ । यसैगरी, भोलिबाट सुरु हुने एसईई परीक्षाको परीक्षा केन्द्रमा उच्च सतर्कता अपनाउन संगठनले आग्रह गरेको छ ।
विश्वव्यापीरुपमा फैलँदै गएको कोरोना भाइरसलाई मध्यनजर गर्दै संगठनहरुले भयमुक्त वातावरणमा एसईई र विश्वविद्यालय स्तरका परीक्षा सञ्चालन गर्न सबै परीक्षाकेन्द्रमा चिकित्सासहित स्वास्थ्य सहायता केन्द्र स्थापना गरी उच्च सतर्कता अपनाउन तथा आइसोलेशन बोर्ड स्थापना गर्न आग्रह गरेको छ । बैठकले विश्वमा फैलँदै गएको कोरोना भाइरसलाई नेपालमा फैलन नदिन आफ्नो समितिमार्फत देशभर सचेतना फैलाउने निर्णय गरेको छ ।
अनेरास्ववियूकी उपाध्यक्ष सुनिता बरालले पछिल्लो समय विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस विरुद्धमा देशभर सचेतना फैलाउन लागेको बताइन् । नेपालमा कोरोना अहिले सम्म नदेखिएको भएपनि मानिसहरुमा भएको मनोवैज्ञानिक त्रासलाई हटाउन अभियन्ताका रुपमा सचेतना फैलाउन लागेको उनको भनाई छ ।