शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्न आवश्यक : मन्त्री भट्टराई

पोखरा/२० साउन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको बताएकी छन् । जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको बताएकी हुन् ।


त्यसैगरी विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनावद्धरुपमा अघि बढ्ने बताएकी छन् ।


मन्त्री भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन । जनगुनासो एवम् समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवम् सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।


साथै सरकारी काम कारवाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् । सरकारी जागिरलाई केबल व्यक्तिगत सुविधाको रुपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।