काठमाडौँ /१६ साउन – काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेशन अन्तर्गत सिपिइसिले काठमाडौँ महानगरपालिकासँगको सम्झौता बमोजिम किताब रहित शुक्रवारका लागि विभिन्न १५ विधाहरूमा तयार गरेको पाठ्यक्रमको विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ । पाठ्यक्रमलाई अन्तिम रूप दिनका लागि विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको हो ।
तयार गरिएको हरेक पाठ्यक्रमहरू १ सय घण्टाको रहने र पाठ्यक्रम तीन क्रेडिटआवरको रहने छ । काठमाडौँ महानगरपालिकाका सहरी विकास समितिका संयोजक शैलेन्द्र झाले किताब रहित शुक्रवारको सोच तथा सुरुवातको बारेमा बताउँदै यस कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई आफ्नो इच्छा अनुरूपको क्षेत्रमा सहभागी भै ज्ञान तथा सीप हासिल गर्न सकिने बताए ।
काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशनका डीन प्रा.डा. बालचन्द्र लुईटेलले पाठ्यक्रममा व्यवहारिक पक्षलाई समेटेर लैजान आवश्यक रहेको भन्दैे शिक्षक र विद्यार्थीहरूको सहभागिता बराबरी रूपमा हुन सके सीपको सिकाई अझ मजबुत हुने व्यक्त गरे । पाठ्यक्रम तयारमा संलग्न काठमाडौँ विश्वविद्यालयका विनोद पन्तले तयारको क्रममा धेरै चुनौती भोग्नु परेता पनि काठमाडौँ महानगरपालिकाका लागि यो एक कोशेढुंगा भएको बताए । पाठ्यक्रम विद्यार्थी तथा सम्बन्धित विज्ञहरूको संयुक्त उपस्थितिमा बनाएको उनले जानकारी दिए ।
काठमाडौँ महानगरपालिका शिक्षा विभाग प्रमुख केशव ज्ञवालीले पाठ्यक्रमले विद्यार्थीको सिकाईलाई राम्रो बाटोमा लैजाने विश्वास व्यक्त गर्दै कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि निर्माण गर्ने प्रक्रियामा रहेको बताए । ज्ञवालीले आफूले सन्तानलाई सामुदायिक विद्यालयमा नै अध्ययन गराएको र विद्यालय अध्यापन प्रति गर्व रहेको विचार व्यक्त गरे ।
समूह विभाजनमा कार्यका लागि काठमाडौँ विश्वविद्यालयका डा. बासु सुवेदीले १५ वटा पाठ्यक्रमको समूह विभाजन र कार्यबारे जानकारी गराउदै विभिन्न कक्षा कोठामा पाठ्यक्रमहरू उपर छलफल गरि अन्तिम रूप दिने कार्य गरिएको थियो ।