प्रारम्भिक बालविकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौँ /८ साउन – काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन र खनियाबास गाउँपालिका, धादिङको संयुक्त आयोजनामा प्रारम्भिक बालविकास सम्बन्धी सहजकर्ताहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रम खनियाबास गाउँपालिका अन्तर्गतका विद्यालयहरूको प्रारम्भिक बालविकासका सहजकर्ता र काठमाडौँ विश्वविद्यालयका प्रारम्भिक बालविकासका विज्ञहरू बीच अनुभव आदानप्रदान रहेको थियो ।


कार्यक्रमलाई डा.पार्वती ढुङ्गानाले अतिथि तथा सहभागीलाई स्वागत मन्तव्य व्यक्त राखेकी थिइन । त्यसैगरी विश्वविद्यालयका प्राध्यापक डा. हेमराज काफ्ले तथा खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले आफ्नो विचार राख्दै कार्यक्रमले प्रारम्भिक बालविकास सहजकर्ताहरूलाई थप उर्जा प्राप्त हुने बताए । अध्यक्ष तामाङले सहजकर्ताहरूको छनौट गरि थाईल्याण्डमा भएको सहभागिता बारेमा प्रकाश पारेका थिए ।


कार्यक्रममा डा. शेषाकान्त पंगेनिले काठमाडौँ विश्वविद्यालयबाट सञ्चालित प्रारम्भिक विकास सम्बन्धी कार्यक्रम बारे जानकारी दिँदै अन्तरक्रिया कार्यक्रमले दुवै संस्थालाई आगामी दिनमा सहकार्यमा थप बाटो खुल्ने विचार व्यक्त गरे ।
त्यसैगरी खनियावास गाउँपालिका सहजकर्ता सपना लामाले थाइल्याण्डमा प्रारम्भिक बालविकास सम्बन्धी तालिममा सहभागी भए पश्चात भएको सिकाई तथा अनुभवबारे प्रस्तुत गरेकी थिइन भने रति शर्माले नेपालमा प्रारम्भिक बालविकासको भैरहेको अभ्यास बारे प्रस्तुत दिएकी थिइन ।


प्रस्तुतीकरणको क्रममा डा. श्रीकृष्ण वाग्लेले बालमनोविज्ञानको महत्व बारेमा प्रकाश पारेका थिए । प्रस्तुतीकरण पश्चात् दुवै देशबिच प्रारम्भिक बालविकासको सम्बन्धमा समानता र फरक पद्धतिबारे छलफल गरिएको थियो ।