चितवन/५ साउन – प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले कृषि विद्यार्थी प्रथम राष्ट्रिय सम्मेलन चितवनमा प्रारम्भ गरेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा प्रथम कृषि विद्यार्थी सम्मेलनको आयोजना गरेको हो ।
परिषद्ले कृषि शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समग्र चिन्तन र सुधारको बारेमा आगामी दिशा तयका गर्नका लागि राष्ट्रिय कृषि विद्यार्थी सम्मेलनको आयोजना गरेको विद्यार्थी परिषद्ले जनाएको छ ।
सम्मेलनलाई सम्बोधन गर्दै प्राज्ञिक विद्यार्थी परिषद् नेपालका राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले परिषद्को विचार नेपाली माटोको विचार र हामीले शुभारम्भ गर्न गइरहेको कार्यपनि नेपाली माटोसँग जोडिएको कार्य भएकोले यो कृषि विद्यार्थी सम्मेलन कृषि शिक्षा पढ्ने विद्यार्थीहरूका लागि महत्त्वपूर्ण हुने बताए ।
उनले आज कृषक भन्ने बित्तिकै फाटेको कपडा, फाटेको चप्पल, निराश भएर आकाशतिर हेरिरहेको आत्मविश्वास कम भएको देखिने, टेक्टरमा बसेको तस्विर देखिन्छ तसर्थ हामीले कृषिलाई सम्मानित पेसाको रूपमा विकास र विस्तार गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले यस्तो तस्विरलाई वदलेर खुसी, सम्पन्न, आत्मविश्वासपूर्ण किसान हामीले बनाउनु आवश्यक रहेको उल्लेख गरे ।
उनले भने “कृषि केवल खेती होइन, कृषि एक जीवन हो, हामीले कृषि क्षेत्रमा शिक्षा,अनुसन्धान,रोजगार, किसानको सम्मान गरी कृषिलाई उद्यमको रूपमा विकास गर्नु आवश्यक रहेको छ । “हामी कृषिका विद्यार्थी हौ, म जुन पढ्दै छु मैले पढेको कारण मेरो देशलाई के राम्रो हुदै छ, हामीले विवाह गर्दा सरकारी कर्मचारी, बैँक , व्यापारीहरू प्रति जति आकर्षण, कृषिमा बनाउने कि नबनाउने ? नेपालमा बनेको, निर्माण गरेको कृषि सामग्रीको ब्राण्डिङ गर्ने कि नगर्ने ? साथै समृद्ध,सफल,सशक्त,समर्थ र आत्मनिर्भर कृषि बनाउने उद्देश्यका साथ कार्य गर्नु वर्तमानमा राष्ट्रको आवश्यकता रहेकोले सोही दिशामा काम गर्न विद्यार्थीहरूलाई उत्प्रेरित गरेका थिए ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयको सभाहलमा सम्पन्न भएको उद्घाटन समारोहमा विद्यार्थी परिषद्का राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कंडेल, राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख झलकनाथ कँडेल, कृषि उद्यमी छविजङ्ग ठकुरी, परिषद् कृषि तथा वन विज्ञान विश्वविद्यालय संयोजक विक्कि सिंह, रामपुर कृषि क्याम्पस संयोजक प्रकृति कण्डेल, सुदूरपश्चिम विश्वविद्यालय कृषि क्याम्पस संयोजक गणेश विकको विषेश उपस्थिति रहेको परिषद्ले जनाएको छ ।
उद्घाटन समारोहमा कृषि उद्यमी, व्यवसायी एवम् रोजगारदाता छविजङ्ग ठकुरीलाई कृषि उद्यमी सम्मानद्वारा परिषद्ले सम्मान पनि गरेको छ । ब्रिटिस आर्मीमा रहेर लामो समय काम गर्नु भएका उहाँले आफू स्वदेश फिर्ताभई आफ्नो देशको माटोमा केही काम गर्नु पर्छ भनी व्यावसायिक कृषि पेशा सञ्चालन गर्नु भइ उदाहरणीय कार्य गर्दै आइरहेकाले उहाँलाई सम्मान गरिएको परिषद्ले जनाएको छ ।
देवघाट धाममा जन्मेका छविजंग २०३९ देखि २०५२ सम्म ब्रिटिस आर्मीमा काम गरी नेपालको मायाले स्वदेश फर्किएर कृषि पेसामा लाग्नु भएको थियो । उनले नवलपुर जिल्लाको ढोडेनिमा बगैँचा कृषि फार्म सञ्चालन गरी लिची, आप, केरा, निबुवा, एवोगार्डाे कागती, ड्रागन फुड आदिको व्यावसायिक खेती गरी दर्जनौँलाई रोजगार दिँदै आइरहेका छन् ।
श्रावण ४ र ५ गते दुई दिनसम्म चल्ने सम्मेलनबाट कृषि क्षेत्रको र शिक्षाको विषयलाई लिएर विशेष प्रस्ताव पारित गर्दै कृषि कार्यका लागि राष्ट्रिय टोलीको गठन गर्ने परिषद्ले जनाएको छ ।



