जसले एक दिन कक्षाकोठामा गएर पढाएको छैन उही विद्वान् हुनु पर्ने ?

काठमाडौँ /५ साउन – वृहत् राष्ट्रिय शिक्षा अभियान, नेपालका संयोजक अभिषेक घिमिरेले कक्षाकोठामा नगएको व्यक्ति विद्वान् हुन नसकने दाबी गरेका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत प्वाक्क बोलेर हिँड्नेलाई जे बोले पनि हुन्छ भन्दै कक्षा कोठामा गएर नपढाएको व्यक्ति विद्वान् हुन खोजेको धारणा व्यक्त गरेका छन् ।


शिक्षकले वर्ष भरी काम गरिरहेपनि शिक्षकको मनोबल गिराउने गरी जे बिक्छ त्यही बोलेर आफ्नो दुनो सोझ्याउने, पपुलारिटी कमाउने, दोष जति सबै अरूलाई देखाएर आफू मात्र चोखो बन्ने परिपाटी रहेको बताएका छन् । साथै असफलताको दोष शिक्षकलाई लगाएर राम्रो कुराको जस आफूले लिए हुने व्यङ्ग्य गरेको छन् ।


त्यसैगरी शिक्षामा सुधार ल्याउनका लागि शिक्षकसँगै काम गरेर, सहकार्य गरेर शिक्षकलाई उत्प्रेरणा र हौसला दिएर, आत्म सम्मान दिएर, काम गर्नलाई सकारात्मक वातावरण सिर्जना गरेर काम गर्ने स्थानमा पोजेटिभ वर्क कल्चार हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।


हेर्नुहोस उनको भनाई


शिक्षकसँगै काम गरेर, सहकार्य गरेर शिक्षामा सुधार ल्याउने हो भने शिक्षकको मनोबल नगिराऔँ– मनोबल उच्च राखौँ । होइन, जे बिक्छ त्यही बोलेर आफ्नो दुनो सोझ्याउने, पपुलारिटी कमाउने, दोष जति सबै अरूलाई देखाएर आफू मात्र चोखो बन्ने हो भने असफलताको दोष शिक्षकलाई लगाऔँ र राम्रो कुराको जस आफूले लिए हुन्छ ।


प्वाक्क बोलेर हिँड्नेलाई जे बोले पनि हुन्छ ! तर, वर्षभरि शिक्षकसँगै रहेर काम गर्ने हो भने शिक्षकलाई उत्प्रेरणा र हौसला चाहिन्छ, आत्म सम्मान चाहिन्छ ! काम गर्नलाई सकारात्मक वातावरण चाहिन्छ । काम गर्ने स्थानमा एयकष्तष्खभ ध्यचप ऋगतिगचभ चाहिन्छ ।


जसले एक दिन कक्षाकोठामा गएर पढाएको छैन, उही विद्वान् हुनु पर्ने ! उसैले अर्ति र उपदेश दिनु पर्ने !!


सक्नेले सहयोग गरौँ, सहकार्य गरौँ, हातेमालो गरौँ, शिक्षकका समस्या के हुन् सुनौँ, विद्यालयका समस्या के हुन् समाधान गर्न लागौँ, प्रधानाध्यापकको गुनासो के हो त्यसलाई समाधान गरौँ, विद्यार्थीको समस्या के हो त्यसलाई समाधान गर्न आवाज उठाऔँ !


तर, सतही विद्वान् बनेर फेसबुकमा अनावश्यक नकारात्मकता नछरौँ !


गर्न कोसिस गर्ने भन्दा बिग्रियो मात्र भनेर तीन हात उफ्रिनेहरूका कारण सबैभन्दा बढी समस्या उत्पन्न भएको छ – हेक्का राखौँ !!