काठमाडौं/३ साउन – पाठ्यक्रम विकास केन्द्रले विज्ञसूची तयारीका लागि निवेदन दर्ता गर्न सूचना जारी गरेको छ । पाठ्यपुस्तक लेखन, मुल्याङ्कनलगायतका कार्यलाई गुणस्तरीय प्रभावकारी एवम् सुव्यवस्थित बनाउने उद्देश्यले निवेदन दर्ता गर्न विज्ञहरुलाई आग्रह गरेको हो ।
केन्द्रले प्रारम्भिक बालशिक्षादेखि आधारभूत तह र माध्यमिक तह (कक्षा ९–१२) सम्मका अनिवार्य तथा ऐच्छिक विषयहरू, माध्यमिक तह प्राविधिक तथा व्यावसायिक धारतर्फका व्यावसायिक विषयहरू र गुरुकुल, संस्कृत, वेद विद्याश्रम, मातृभाषा, मदरसा, मुन्धुम र गोन्पातर्फका विषयहरूका विज्ञसूची तयार गर्नका लागि निवेदन माग गरिएको जनाएको छ ।
तोकिएबमोजिम योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशन भएको २१ (एक्काइस) दिन भित्र केन्द्रमा आइपुग्ने गरी तोकिएको ढाँचामा निवेदन दर्ता गराउनुपर्ने सूचनामा उल्लेख छ ।



