काठमाण्डौं/२ चैत्र– त्रिभुवन विश्वविद्यालय (त्रिवि)को ट्रान्सक्रिप्ट अब सेक्युरिटी फिचर सहितको नयाँ मोडलमा बन्ने भएको छ ।
नक्कली ट्रान्सक्रिप्ट लिने क्रम बढेकाले त्यसलाई रोक्न र सबैलाई एउटै किसिमको ट्रान्सक्रिप्ट उपलब्ध गराउनका लागि त्रिविले सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने भएको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)का नियन्त्रक जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी सो सम्बन्धी प्रक्रिया सुरु गरिएको जानकारी दिए ।
उक्त ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । ट्रान्सक्रिप्ट बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचामा रहनेछ जसलाई ‘गुलुची’ भनिन्छ । त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लगाउन सकिन्छ । ‘अहिले बजारमा त्रिविकै नक्कली ट्रान्सक्रिप्ट बनाउने गरिएको छ,’ परीक्षा नियन्त्रक जोशीले भने, ‘त्यसलाई रोक्न सेक्युरिटी फिचर भएको ल्याउन लागिएको हो ।’
अहिले वितरण हुने ट्रान्सक्रिप्ट समान छैनन् । अन्य सङ्कायभन्दा चिकित्सा र इञ्जिनियरिङ विषयका भने फरक–फरक ट्रान्सक्रिप्ट छन् । सबैलाई समान खालको सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट दिन लागिएको हो ।
सबैलाई एउटै किसिमको दिइने सो ट्रान्सक्रिप्टको बाहिरी गाता भने पाँच किसिमका हुनेछन् । जुन पानीमा नभिज्ने र नच्यातिने विशेषता नयाँ ट्रान्सक्रिप्टमा हुने जनाइएको छ । परीक्षा नियन्त्रण कार्यालयले तह अनुसारका रातो, हरियो, निलो, खैरो र बैजनी रङ्गका पाँच प्रकारका फोल्डरभित्र ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट राखेर दिनेछ ।
सेक्युरिटी फिचर सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराइने भएकाले ट्रान्सक्रिप्ट लिन महंगो शुल्क लाग्ने भएको जानकारी विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले दिएको छ । प्रवीणता प्रमाणपत्र तहको लागि २ हजार, स्नातकका लागि २ हजार २ सय, स्नातकोत्तर तह र एमफिलका लागि २ हजार ५ सय र विद्यावारिधिका लागि ३ हजार मूल्य तोकिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । बाक्लो गाता (फोल्डर)मा प्रोभिजनल सटिर्फिकेटसहित दिइने नयाँ ट्रान्सक्रिप्ट अहिलेको भन्दा पाँच गुणा बढी शुल्क लाग्ने परीक्षा नियन्त्रक जोशीले बताए ।
नियन्त्रक जोशीले वि. सं २०७७ बाट परीक्षा दिने सम्पूर्ण विद्यार्थीलाई उक्त ट्रान्सक्रिप्ट वितरण गरिने जानकारी दिए ।