काठमाण्डौं/२९ फागुन– गुल्मिको तम्घास माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई विश्वव्यापी रूपमा फैलिरहेको कोरोना भाइरसबाट बच्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ ।
संसारभरी नै फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यार्थीहरूलाई सचेतना कक्षाहरू सञ्चालन गरेको सो विद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले जानकारी दिईन् । यसका लागि रेसुङ्गा नगरपालिक स्वास्थ्य शाखाको कर्मचारीहरूले कोरोना भाइरस र यसबाट जोगिने उपायबारे जानकारी मुलक सन्देश दिएको उनले बताईन ।
त्यस्तैगरी, गुल्मीका स्थानीय तहद्वारा कोरोना भाईरस सम्बन्धि हेल्प डेक्स स्थापना गरी आवश्यक सूचना तथा उपचारको व्यवस्थापन गरिने भएको छ । जिल्ला अस्पताल गुल्मीले औषधि व्यवस्थापनलगायत आइसोलेसन वार्डको समेत व्यवस्था गर्ने निर्णय गरिएको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलिले बताएका छन् । जिल्ला प्रशासन कार्यालय गुल्मी तथा सम्पूर्ण सुरक्षा निकायले सुरक्षाको व्यवस्थापन गर्ने निर्णय भएको छ । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प डेक्समा अनिवार्य चेकजाँच गर्नुपर्ने निर्णय भएको पराजुलिले बताए ।
यसका साथै रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय गुल्मीले मेला महोत्सवमा समेत प्रतिबन्ध गर्दै एक सार्वजनिक सूचना जारी गरी कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले मानिसहरूको भिडभाड हुने मेला, महोत्सव कार्यक्रमहरू नगर्न समेत आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब पन्थीले जानकारी दिए ।