विद्यार्थीको हात चिर्न लगाउने शिक्षिकालाई हिरासातमा राख्न अनुमति

काठमाडौं/२८ फागुन–परीक्षामा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका विरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ७ दिनको म्याद दिएको छ ।
मंगलबार काठमााडौं जिल्ला अदालतले शिक्षिका सीतालक्ष्मी कर्मचार्य विरुद्ध थप अनुसन्धानका लागि म्याद दिएको हो । उनलाई महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले बालबालिका सम्बन्धी ऐन, २०७५ अनुसार कसुर गरेको दाबी गर्दै म्याद थपका लागि अदालत लगेको थियो । बालबालिकासम्बन्धी ऐनको परिच्छेद ८ मा रहेको ‘घर, विद्यालय वा जुनसुकै स्थानमा शारीरिक वा मानसिक दण्ड दिने वा अमर्यादित व्यवहार गर्ने’ कसुरमा दोषीलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म सजाय हुन सक्ने उल्लेख छ ।