काठमाडौं/२० फागुन–निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कोरोना भाइरसको संक्रमण फैलने सक्ने संभावनालाई मध्यनजरमा राख्दै सबै विद्यालयहरुले शैक्षिक सत्र २०७६ को (कक्षा–९ सम्मका) वार्षिक परीक्षा २०७६ चैत्र ५ गतेभित्र सम्पन्न गर्न सदस्य विद्यालयहरुलाई अनुरोध गरेको छ ।
मंगलबार सूचना जारी गर्दै प्याब्सनले विद्यालयहरुले आयोजना गर्ने वार्षिक कार्यक्रम अभिभावक दिवस, सामुहिक छलफल, अन्तरक्रिया जस्ता जनभेला हुने कार्यक्रमहरु स्थगन समेत गर्न प्याब्सनले अनुरोध गरेको छ । साथै कोरोना भाइरसका सम्बन्धमा जनचेतानामुलक कार्यक्रमहरु सञ्चालन गर्न पनि भनिएको छ ।
शैक्षिक सत्रको अन्त्यसँगै अहिले विद्यालयहरु वार्षिकोत्सव र अभिभावक दिवस मनाउने तयारीमा रहेका छन् । कति विद्यालयले मनाई सकेका छन् भने कति विद्यालय मनाउने तर्खरमा थिए । तर, कोरोना भाइरसको त्रासका कारण यस्तो निर्णय लिएको प्याब्सनले जनाएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै वार्षिकोत्सव तथा अन्य कार्यक्रम स्थागित गर्न प्याब्सनले विद्यालयलाई सूचित गरेको छ । विद्यालय क्षेत्र बढी मात्रामा सर्वसाधारण आवतजावत हुने क्षेत्र भएकाले विद्यालयहरु संवेदनशील र सचेत हुनुपर्ने प्याब्सनको भनाई छ ।