काठमाडौं/२० फागुन–शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणका कारण विद्यालयहरुलाई सामूहिक भेला, सेमिनार, गोष्ठीलगायत कार्यक्रम नगर्न आदेश दिएको छ ।
मन्त्रालयका सचिव महेशप्रसाद दाहालले मंगलबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र नेसनल प्याब्सनको प्रतिनिधि तथा सरोकार पक्षलाई बोलाएर विद्यालयमा सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको परीक्षा लिइ सक्नुपर्ने जनाएको छ ।
स्थानीय तहले लिने कक्षा ५ र ८ को जिल्लास्तरीय परीक्षाका लागि परीक्षा केन्द्र निर्धारण नगरी आ–आफ्नो विद्यालयमा परीक्षा लिने व्यवस्था गर्न मन्त्रालयको भनाई छ ।
विद्यालयको वार्षिकोत्सव स्थागित गर्दै प्याब्सन प्रदेश नं. १
निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नं.१ ले विद्यालयहरुमा भइरहेको वार्षिकोत्सव तथा अन्य कार्यक्रमलाई स्थागित गर्न आग्रह गरेको छ ।
मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै प्याब्सन प्रदेश अध्यक्ष युवराज वाशिष्ठले यस्ता कार्यक्रमहरुमा ठूलो संख्यामा जनसमुदायको उपस्थिति रहने हुँदा त्यस्ता भेला संक्रमणका हिसाबले जोखिमपूर्ण रहने कुरालाई ध्यानमा राखी स्थागित गर्न लगाइएको बताए ।
शैक्षिक सत्रको अन्त्यसँगै अहिले विद्यालयहरु वार्षिकोत्सव र अभिभावक दिवस मनाउने तयारीमा रहेका छन् । कति विद्यालयले मनाई सकेका छन् भने कति विद्यालय मनाउने तर्खरमा थिए । तर, कोरोना भाइरसको त्रासका कारण यस्तो निर्णय लिएको प्याब्सनले जनाएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसलाई मध्यनजर गर्दै वार्षिकोत्सव तथा अन्य कार्यक्रम स्थागित गर्न प्याब्सनले विद्यालयलाई सूचित गरेको छ । विद्यालय क्षेत्र बढी मात्रामा सर्वसाधारण आवतजावत हुने क्षेत्र भएकाले विद्यालयहरु संवेदनशील र सचेत हुनुपर्ने उनको भनाई छ ।