काठमाण्डौं/७ फागुन– अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरानचोक १ गोरखास्थित नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार शाहविरुद्ध भ्रष्टाचारको चारवटा मुद्दा दायर गरेको छ ।
तत्कालीन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मत तथा अङ्ग्रेजी, गणित र विज्ञान ल्याब निर्माणका लागि प्राप्त रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा शिक्षा विकास तथा समन्वय इकाईबाट प्राप्त १६ लाख १० हजार र १ लाख ५० हजार रकम साविक केराबारी गा.वि.स.बाट हिनामिना गरेको अख्तियारको अनुसन्धानमा देखिएको छ ।
शाहले लाइब्रेरी व्यवस्थापनका लागि फिक्सिङ्ग र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजारको दुरुपयोग गरी भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ । उनले शिक्षा विकास तथा समन्वय इकाइका प्राविधिक सव इन्जिनियर विकास झासँगको मिलोमतोमा विद्यालयकाे रकम दुरुपयोग गरेको अख्तियारको जनाएको छ । यसैगरी विद्यालयको छात्रवृत्ति, पोशाक, झोला तथा शैक्षिक सामग्री खरिद शीर्षकमा निकासा भएको ७२ हजार २ सय बयान्नब्बे रकम सम्बन्धित शीर्षकमा वितरण नगरी हिनामिना गरेको खुलेको अख्तियारको दाबी छ । शौचालयको निर्माण तथा मर्मत शीर्षकमा प्राप्त रकमबाट छात्रा शौचालय तथा फर्निचर मर्मत, निर्माण नै नगरी विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णयको प्रतिवेदन एवं झुठ्ठा बिल भरपाइ तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराई सरकारी सम्पत्ती हिनामिना गरेको अख्तियारले पुष्टि गरेको छ ।
मुद्दामा शिक्षा विकास तथा समन्वय इकाईका प्राविधिक सव इन्जिनियर विकास झालाई समेत अख्तियारले मुद्दा दायर गरेको छ । सव इन्जिनियर विकास झाले शिवकुमार शाहसँग मिलेमतो गरी बदनियतसाथ गलत कागजातको कार्य सम्पन्न प्रतिवेदन तथा नापी किताब तयार गरी विद्यालयको लागि नेपाल सरकारबाट अनुदान प्राप्त मर्मत शीर्षक, छात्रा शौचालय निर्माण गरी नेपाल सरकारको ३ लाख ५० हजार हिनामिना गरेको अख्तियारले ठहर गरेको छ । प्रधानाध्यापक शाहले तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट ट्रस भवन मर्मतका लागि प्राप्त १७ लाख ६० हजार रकम मध्ये ५ लाख मात्रै भवन मर्मत उपभोक्तासमितिलाई दिएको अनुसन्धानबाट खुलेको छ । अख्तियारका अनुसार उनले ११ लाख १० हजारको विद्यालय व्यवस्थापन समितिको झुठ्ठा निर्णय, नापी किताब तथा कार्य सम्पन्न प्रतिवेदनको झुठ्ठा बिल भरपाई तयार गरी सो रकम शिक्षा विकास तथा समन्वय इकाई गोरखाबाट फछर्यौटसमेत गराएका थिए ।
विद्यालय व्यवस्थापनको झुठ्ठा निर्णयको प्रतिवेदन प्रस्तुत र नक्कली बिल भरपाई पेश गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ लिई सरकारी रकम अनियमितता गरेकाले प्रधानाध्यापक शाह र प्राविधिक सव इन्जिनियर विकास झाविरुद्ध भ्रष्टाचार निवारण ऐन, बमोजिम फरक फरक सजाय र हानीनोक्सानी बिगो रकमको असुलउपरको माग सहित चार मुद्दामा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोईरालाले जानकारी दिए ।