सामुदायिक विद्यालयका समस्या र समाधान बारे अध्ययनको सुरुवात

काभ्रे/२० मंसिर-पनौतीका सामुदायिक विद्यालयहरुमा शिक्षाको गुणस्तर अभिवृद्धिमा अहिलेको अवस्थामा अवरोध पुर्याउने के कस्ता तत्वहरु रहेका छन् भन्ने विषयमा एक अध्ययनको सुरुवात गरिएको छ ।


काठमाडौ विश्वविद्यालय र स्कुल अफ एजुकेसन पनौतीको सामुदायिक शिक्षा सुधारमा विगत ८ वर्षदेखि क्रियाशील ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालको सहकार्यमा यो अध्ययनको सुरुवात गरिएको हो ।


अध्ययन यहि मंसिर १६ गते शुक्रबार पनौती–५ स्थित श्री धनेश्वर महादेव आधारभूत विद्यालयबाट यस कार्यको सुरुवात गरिएको छ ।


काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका निरन्तर पेशागत शिक्षा कार्यक्रम संयोजक डा.पार्वती ढुंगाना र अंग्रेजी भाषा शिक्षा विभागकी भिजिटिङ् फ्याकलटी रेजीना केसीको नेतृत्वमा गरिएको यस अध्ययनमा स्कुल अफ एजुकेशनका अंग्रेजी भाषा शिक्षा विभागका विद्यार्थीहरुले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।


आरसीएफ नेपालका लेखा अधिकृत सरिना मानन्धरले समन्वय गर्नुभएको यस कार्यक्रममा श्री धनेश्वर महादेव आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष अनिरुद्र थापाले सहभागीहरुलाई स्वागत गरेका थिए ।


यस अध्ययनका क्रममा विद्यार्थीहरु ३ वटा समूहमा विभाजन गरी विद्यालयको बाहिरी र भित्री वातावरणको अवलोकन गरिएको थियो । पहिलो समूहले कक्षाकोठा भित्रको आवश्यकता, सवल पक्ष र दुर्वल पक्षको अध्ययन गरेका थिए । दोस्रो समूहले शिक्षकहरुसँग अन्तरक्रीया गरी शिक्षण क्रियाकलापमा आएका समस्या, कठिनाई, उत्प्रेरणा तथा आवश्यकताका बारेमा र यससँग सम्वन्धित समस्या समाधानका उपायहरुको बारेमा छलफल गरेका थिए । अन्तिम समूहले व्यवस्थापन समितिका अध्यक्ष अनिरुद्र थापासँग विद्यालयका बारेमा सोधपुछ गर्दै विद्यालय तथा विद्यार्थीसँग सम्बन्धित भावी योजनाका बारेमा छलफल गरेका थिए ।


यस किसिमको अध्ययन पनौतीका अन्य विभिन्न विद्यालयहरुमा समेत गरी त्यसको आधारमा शैक्षिक गुणस्तर सुधार सम्बन्धी कार्यक्रमहरुको निर्माण गरी लागु गर्ने योजना रहेको काठमाडौ विश्वविद्यालय स्कुल अफ एजुकेशनका कार्यक्रम संयोजक पार्वती ढुंगानाले जानकारी दिइन ।


(यो समाचार खबर एजुकेसनका लागि क्रियाशील ग्रामीण सामुदायिक संगठन (आरसीएफ) नेपालका अध्यक्ष श्री कृष्ण थापाले तयार पार्नु भएको हो भने तस्वीर दिवाकर क्षेत्रीले खिच्नु भएको हो । )