शिक्षण सिकाइ प्रभावकारी बनाउन प्याब्सनको लाइब्रेरी तालिम सुरु

ललितपुर/१३ मंसिर– निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालयहरुमा लाइब्रेरीको तालिम सुरु गरेको छ । विद्यालयका हरेक शिक्षकमा लाइब्रेरी बारे ज्ञान होस भन्ने उदेश्यले तालिम सञ्चालन गरेको हो ।


प्यब्सन अन्तर्गतका ५ हजार विद्यालयलाई तालिम दिने उदेश्य सहित सोमबार ललितपुरमा आयोजित एक औपचारिक कार्यक्रमका बिच तालिमको सुरुवात गरिएको छ । ललितपुरका विद्यालयहरुका लागि एक महिना सम्म सञ्चालन गरिने तालिममा लाइब्रेरीको महत्व, सञ्चालनको प्रक्रिया लगाएतका विषयमा शिक्षकहरुलाई तालिम दिइने छ ।


प्रत्येक शिक्षकमा लाइब्रेरीको ज्ञान हुन अनिवार्य रहेको भनदै प्यब्सनले गत साउन महिनामा लाइब्रेरी विकास फोरमसँग सम्झौता गरे अनुरूप आजबाट तालिम सुरु गरिएको प्याब्सनका उपाध्यक्ष तथा तालिम विभाग संयोजक कृष्ण अधिकारीले बताए । उनले एक महिना ललितपुरका विद्यालयका लागि तालिम सञ्चालन गरिएको र विस्तारै देशै भरका विद्यालयहरुमा सञ्चालन गरिने जानकारी दिए ।


अधिकारीले विद्यालयका प्रत्येक शिक्षकमा लाइब्रेरीको ज्ञान भएमा मात्र शिक्षण सिकाइ प्रभावकारी बनाउन सकिने हुँदा तालिम सञ्चालन गरिएको बताए । एक महिने तालिममा लाइब्रेरीको अर्थपूर्ण सञ्चालन र विद्यालयमा यसको प्रभावकारी प्रयोग बारे सिप सिकाइने लाइब्रेरी विकासले जनएको छ ।


तालिम अवधिभर अनलाइन र अफलाइन लाइब्रेरी सञ्चालनको विषयमा प्रशिक्षार्थीहरूले ज्ञान लिने छन् भने मंसिर १३ गतेदेखि एक महिना सम्म अक्सब्रिज ललितपुरमा तालिम सञ्चालन हुनेछ ।