विद्यार्थीको समस्या पहिचान पछि मात्र निराकरणको मार्ग पहिचान हुने

काठमाडौं/२९ कार्तिक-काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसन र भक्तपुरको कौशलटार स्थित आदर्श जनप्रेमी अङ्ग्रेजी माध्यमिक विद्यालयको सहकार्यमा शिक्षकको क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । गत आइतबार निड् इसिस्मेन्ट वर्कसपको आयोजना गर्दै उक्त कार्यक्रम सम्पन्न् भएको हो ।


काठमाडौँ विश्वविद्यालयका प्रतिनिधि एवम् सिपिइपी संयोजक डा.पार्वती ढुङ्गाना पौडेल र प्रशिक्षक राजु श्रेष्ठको प्रस्तुतिमा विद्यालयका सबै शिक्षकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको प्रारम्भमा पार्वती ढुङ्गानाले कार्यरत अनुसन्धानमा आधारित रहेर विद्यार्थीहरूमा रहेका समस्याहरूलाई कसरी र कुन विधिबाट पहिचान गरी निराकरण गर्न सकिन्छ भन्ने बारेमा कार्यक्रम प्रस्तुत गरेकी थिइन ।


त्यसैगरी दोस्रो चरणमा राजु श्रेष्ठले अनुसन्धान विधि अन्तर्गत रहेर विभिन्न चरणमा विविध विधिहरूको प्रयोग गर्दै विद्यार्थीमा रहेका व्यावहारिक र शैक्षिक समस्याहरूलाई पहिचान र निराकरण गर्न अनुसन्धान विधिको बारेमा प्रशिक्षण प्रदान गरे ।


विद्यार्थीहरूको समस्या पहिचान गर्ने हेतुले निड् एसिस्मेन्ट इन एक्सन रिसर्चमा तालिम केन्द्रित रहेको थियो । विद्यार्थीका समस्यालाई नै मुख्य विषयका रूपमा लिएर तिनीहरूको समस्या पहिचान गर्न अवलोकन र अन्तवार्ताको विधि अपनाउनु पर्ने तथ्यलाई तालिमको विषय बनाइएको थियो ।


चार घण्टा लामो र शिक्षक शिक्षिकाहरूको उत्साहजनक सहभागितामा भएको उक्त कार्यक्रममा अवलोकन र अन्तवार्ता गर्दा के कसरी गर्ने अनि त्यसका लागि प्रश्नावली बनाउने सम्बन्धमा समूहगत छलफल एवम् अन्तक्रिया गरिएको उक्त तालिममा विद्यार्थीको वास्तविक समस्या पहिचान पछि मात्र निराकरणको मार्ग पहिचान हुने निष्कर्ष निकालिएको थियो