काठमाडौं/२० कार्तिक–त्रिभुवन विश्वविद्यालयबाट विएस्सी सिएसआईटी विषय अध्ययन अध्यापनका लागि सम्बन्धन लिएका अधिकांश निजी कलेजहरुले मापदण्ड विपरित सञ्चालन गरेको पाईएको छ । नविकरणका लागि दिइएको निवेदनका आधारमा विश्वविद्यालयले अनुगमन गर्दा विएस्सी सिएसआईटी विषय अध्ययनका लागि सम्बन्धन लिएका धेरै निजी कलेजहरुले मापदण्ड पुरा नगरी सञ्चालन गरेको पाइएको हो ।
उनीहरुले सम्बन्धन लिनका लागि त्रिविले तोकेको मापदण्ड पुरा गरेपनि कलेज सञ्चालन गर्दा त्रिविको मापदण्ड भन्दा बाहिर गएर नवीकरण नै नगरी सञ्चालन गरेका छन् । यस विषयमा त्रिविले पटक पटक मापदण्ड पुरागरी नवीकरण गर्न निर्देशन दिएको छ ।
विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०७२ सालको भुकम्पपछि कुनैपनि कलेजको नवीकरण नगरिएको र २०७६ सालदेखि पटक पटक नविकरणका लागि निर्देशन दिएपनि १३ वटा कलेज बाहेक बाँकी सिबैले मापदण्ड पुरा नगरेका र नवीकरण नगरी सञ्चालन गरिरहेको जनाएको छ ।
२०७२ सालको भुकम्पपछी भवनहरु भत्किने, विद्यार्थी राख्न नमिल्ने भए र कलेज सुरक्षित भवनमा सार्नुपर्ने अवस्था आयो, जस्ले गर्दा नवीकरण गर्न सक्ने अवस्था रहेन । त्यस अनुरुप २०७६ सालमा नवीकरण गर्नका लागि कलेजलाई नवीकरण गर्न आउन ताकेता गरिएको थियो । धरैले नवीकरणका लागि आवेदन पनि दिए । २०७६ मा आवेदन दिएका कलेजलाई २०७८ मा नवीकरणका लागि अनुगमन गर्दा अधिकांशको मापदण्ड पुरा भएन र मापदण्ड पुरा भएकालाई मात्र नवीकरण गरिएको छ ।
विश्वविद्यालयका अनुसार सम्बन्धन लिँदा मापदण्ड पुरा गरेपनि वर्षौसम्म ल्याब नबनाई विद्यार्थीलाई पढाइरहेको, कतिपय कलेजमा रिसर्च ल्याब अव्यवस्थित रहेको, पुराना कम्प्युटर, उपकरणहरु राखिएको, ल्याबलाई अपडेट नगरीएको र भौतिक संरचनादेखि शिक्षकको व्यवस्थामा ध्यान नदिएको पाएपछि नवीकरण नगरीएको र मापदण्डपुरा गर्न निर्देशन दिएको जनाएको छ ।
त्रिवि कार्यकारी परिषद्को २०७८ बैशाख ८ गतेको निर्णय नं. ८१४ अनुसार नवीकरण गर्ने समयावधि तथा शुल्कका सम्बन्धमा २०७८ साउनदेखि दोब्बर दस्तुर लाग्ने गरी कार्वाही गरिसकेको छ । २०७८ साउन १० मा सम्बन्धन प्राप्त कलेजहरुलाई पत्रलेख्दै पुरानो अवधिका लागि देब्बर दस्तुर तिरेर एक महिना भित्र नवीकरण प्रक्रियामा संलग्न हुन निर्देशन दिएको थियो ।
त्यसपछि पनि कुनैपनि कलेजले नवीकरणका लागि आवेदन दिएनन् र पुनः असोज ४ गते मापदण्ड पुरा नगरेका कलेजलाई पत्र लेख्दै १५ दिन भित्र मापदण्ड पुरा गरी विज्ञान डीनको कार्यालयलाई सूचित गर्न आग्रह गर्यो । तर अहिलेसम्म एउटा कलेजले बाहेक नवीकरण गर्न बाँकी रहेका कुनैले पनि त्रिविलाई सूचित गरेका छैनन् । अब पनि कलेजले नविकरण नगर्ने र अटेर गरिरहे कार्वाहीको प्रक्रियामा जाने त्रिविले जनाएको छ ।
त्रिविको मापदण्ड अनुसार ४८ कोटा संख्या भएको हकमा २४/२४ को दुइवटा कक्षा सञ्चालन गर्नुपर्ने हुन्छ । तर अधिकांश कलेजहरुले २४/२४ को दुइवटा कक्षा सञ्चालन नगरी ४८ जना विद्यार्थीलाई एउटै कक्षा कोठामा राखेर सञ्चालन गर्ने गरेका छन् । तर विश्वविद्यालयलाई २४/२४ दुइवटा कक्षा सञ्चालन भइरहेको देखउने गरेका छन् ।
४८ कोटा संख्या भएको हकमा २४/२४ वटा कम्प्युटर भएको दुईवटा कम्प्युटर प्राक्टिकल ल्याब र २४ वटा कम्प्युटर भएकोमा एउटा प्रोजेक्ट तथा अनुसन्धान कार्यका लागि प्रोजेक्ट ल्याब हुनुपर्ने हुन्छ । विएस्सी सिएसआईटी विषय पढाउने अधिकांश कलेजमा यस्तोे व्यावस्था छैन् ।
त्यस्तै ३६ कोटा संख्या हुने कलेजमा ३६ वटा कम्प्युटर भएको र एउटा कम्प्युटर प्राक्टिकल ल्याब हुनुपर्ने र १८ वटा कम्प्युटर भएको अनुसन्धान कार्यका लागि प्रोजेक्ट ल्याब हुनुपर्ने व्यावस्था छ । तर विश्वविद्यलायले तोकेको यो मापदण्डलाई वेवास्ता गर्दे धेरै कलेजले आफ्नै तरीकाले सञ्चालन गरिरहेका छन् ।
डिजिटललजिक ल्याब र माइक्रोप्रोसेसर ल्याबमा ३ः१ को अनुपातमा डिजिटल लजिक किट्स् र माइक्रोप्रोसेसरकिट्स हुनुपर्ने र ४८ कोटाको संख्या भएकोमा १६/१६ किट भएको दुई वटा ल्याब हुनुपर्ने छ । तर हालको अवस्थामा धेरै कलेजसँग यस्तो खालको ल्याब माइक्रोप्रोसेसरकिट्स छैन । साथै नेटवर्क ल्याबमा आवश्यक पूर्वाधार जस्तै कनफिगरेबल राउटर, स्वीच र केबलहरु नभएको अवस्था मै कलेज सञ्चालनमा छन् ।
त्यसैगरी पूर्णकालिन शिक्षक सम्बन्धमा विश्वविद्यालयले एक जना को–अर्डिनेटर सहित ५ जना पूर्णकालिन शिक्षक हुनुपर्ने मापदण्डमा छ । चार वर्षको अवधिमा प्रतिवर्ष प्रति सेक्सन एक जना त्रिवि नियमाअनुसार एमएस्सी सिएसआईटी विषय अध्ययन पुरा गरेको पूर्णकालिन शिक्षक नियुक्ति गर्नुपर्ने मापदण्ड निर्धारण गरेको छ ।
कम्प्युटर प्राक्टिकल ल्याब तथा प्रोजेक्ट ल्याबमा रिसेन्ट् कन्फिगिरेशन भएको कम्प्युटर हुनुपर्ने मापदण्ड छ । धेरै कलेजसँग यस्तो खालको पूर्वाधार छैन र पुराना कम्प्युटर राखेका छन् जसले गर्दा सातौं र आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई प्रोजेक्ट तथा इन्टर्न गर्न निकै कठिन हुने गरेको विद्यार्थीको आरोप छ ।
तर त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले विएस्सी सिएसआईटी विषय अध्ययनका लागि विद्यार्थीको संख्या धेरै हुने भएका कारण अधिकांश कलेजहरुले मापदण्ड पुरा गर्नमा ध्यान दिनु भन्दा विद्यार्थी सिट संख्या भर्नमा मात्र ध्यान दिने गरेका छन् । कतिपय कलेजले विश्वविद्यालयले भर्नाका लागि लिने प्रवेश परीक्षा भन्दा पहिलै कलेजले आन्तरिक परीक्षा लिने र सिट सकिन लाग्यो भन्दै विद्यार्थीलाई अग्रिम भर्नाका लागि दबाब दिने गरेका छन् ।
त्रिवि अन्तर्गत विएस्सी सिएसआईटी विषयको पढाई हुने कलेज सबै गरेर ६० वटा रहेका छन् भने १५ वटा आंगिक र ४५ वटा सम्बन्धन लिएर सञ्चालनमा छन् । जम्मा सिट क्षमता २ हजार ८ सय ९२ रहेको छ भने अघिल्लो वर्ष करीब २ सय ५० को संख्यामा सिटसंख्या खाली छ । खाली हुने सिट संख्या सबै निजी कलेजका हुन ।



