५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट पुर्याएका छौं : शिक्षामन्त्री

बागलुङ/१५ कार्तिक-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको बताएका छन् । मंगलबार बडिगाड गाउँपालिका ४ को चुनावी कार्यक्रमलाई सम्बोधनगर्दै उनले ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सेवा पुर्याएको बताएका हुन् ।


“हामी बनाउँछौं, हाम्रो विद्यालय अभियान” सञ्चालन गरी १० वर्षे विद्यालय सुधार योजना सार्वजनिक गरेका छौं,”उनले भने, “हालसम्म देशका ५२ प्रतिशत विद्यालयमा आइसीटी ल्याब र इन्टरनेट सुविधा पुर्याएका छौं, आगामी वर्षसम्म ६५ प्रतिशत पुर्याउँछौं ।” बजेटमा ८ कक्षासम्म निःशुल्क खाजाको व्यवस्था भएपनि हाल सरकारले ६ कक्षासम्म लागू गरेको बताउँदै आगामी वर्षसम्म ८ कक्षासम्म पुर्याउने बताए ।


राजनीतिक प्रसंग निकाल्दै उनले समावेशी चरित्रका आधारमा जनताको मौलिक अधिकार प्राप्तका लागि लेखिएको संविधान कार्यान्वयन गर्नेक्रममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुक्का हानेको आरोप लगाए । संविधान र मौलिक हक, सार्वभौमिकताको रक्षाका लागि पाँच दलीय गठबन्धन भएको बताए । देशमा एसपीपी विषय आउने बित्तिकै कुटनीतिक सम्बन्ध अप्ठ्यारोमा नपर्ने गरी मित्रवत् रुपमा मन्त्रिपरिषद्बाट अस्वीकार गरेको बताए । साथै गठबन्धन टुटाउन विदेशीहरु नेपालआए पनि उनीहरु सफल नभएको बताए ।