सुर्खेत/३ भदौ-स्वेच्छिक रुपमा अभिभावकले दिएको सहयोग रकम सामुदायिक विद्यालयले लिन नपाए विद्यालयको सम्पूर्ण पठनपाठन बन्द गरिने वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले जानकारी गराएका छन् ।
अभिभावकले दिएको शुल्क लिन नपाए तथा सामुदायिक विद्यालयको समस्या र भवनालाई संवोधन नगरीए आगामी भदौ सात गतेदेखि वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी गराएका हुन ।
बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै शिक्षा ऐनले तोकेको शिक्षक विद्यार्थी अनुपात झण्डै दोब्बर संख्यामा विद्यार्थी भर्ना भई बालबालिकाको पढ्न पाउने अधिकारको खोजि गरीरहदाँ अभिभावकले थोरै रकम सहयोग गरी वीरेन्द्रनगर नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुले गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरण सिर्जना गरिरहेको भन्दै शुल्क लिन पाउनुपर्ने दाबी गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा प्रधानाध्यापकको हस्ताक्षरित प्रेस विज्ञप्तिमा अभिभावकबाट प्राप्त स्वेच्छिक सहयोगबाट संचालित विद्यालयहरुमा विभिन्न निकाय, व्याक्ति र संस्थाहरुबाट पटक पटक गरिने अवरोध तथा अनुचित हस्तक्षेपका कारण विद्यालयको पठनपाठन, अभिभावकको भावना, विद्यार्थीको सपना र शिक्षक तथा विद्यालयका अभिभावकीय संस्थाहरुको मनोवल र आत्मसम्मानमा चोट पुगेको उल्लेख छ ।
दुरुपयोग अनुसन्धान आयोगले भदौ १ गते श्री जननमूना माविबाट लिएको अतिरिक्त शुल्क र कागजात जफतका बारेमा विभिन्न संचार माध्यम तथा सामाजिक संजालमा आएका अनर्गल टिकाटिप्पणी प्रति हाम्रो घार आपत्ती रहेको छ विज्ञप्तिमा भनिएको छ ।
यस्तो परिस्थिति कायमै रहेमा सरकारी निकायको थप अनुदान सहयोग वा अभिभावकको सहयोग बिना हामी स्वीकृत दरबन्दीको अनुपातमा बाहेक कक्षा ११ मा नयां विद्यार्थी भर्ना लिन र अन्य कक्षाहरुको नियमित पठनपाठन सुचारु गर्न नसकिने बाध्यात्मक अवस्थामा पुगेको भन्दै बन्द गर्ने चेतावनी दिएका छन् ।




