काठमाडौं/२५ साउन– शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हाल सम्म १५ सय ९९ वटा शिक्षक दरबन्दी मिलान गरेको छ । केन्द्रले जिल्लाभित्रै बढी भएको र थप भएको तथा एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा थप गरी दरबन्दी मिलान गरेको हो ।
अहिले सम्म नवौं चरण गरेर १५ सय ९९ वटा शिक्षक दरबन्दी मिलान भईसकेको छ । नवौं चरणको दरबन्दी मिलानमा ११५ दरबन्दी स्थानान्तरण गरीएको छ । त्यस मध्ये ७३ रिक्त दरबन्दी र स्वेच्छिक निवेदनका आधारमा शिक्षक दरबन्दी सहित ४२ शिक्षक दरबन्दी स्थानान्तरण गरीएको शिक्षक व्यावस्थापन समन्वय शाखाका निर्देशक बसन्त प्रसाद कोइरालाले बताए ।
एउटा स्थानीय तहबाट कटौती गरी अर्को स्थानीय तहमा पठाउनु पर्ने जम्मा ३,३३९ वटा खुदपुल दरबन्दी मध्ये १५ सय ९९ मिलान भइसकेको र १७ सय ४० दरबन्दी मिलानको प्रकृयामा रहेको कोइरालाले जानकारी दिए ।
शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधिका आधारमा स्थानीय तहमा स्वीकृत मापदण्डको आधारमा बढी हुन आउने दरबन्दीहरू थप हुन जाने स्थानीय तहमा पठाउने गरी मिलान गरिएको छ ।



